धरान, मंसिर २३ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।
किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। सोही अभियोगमा आरोपित प्रतिष्ठानका डाक्टर रोशन यादव भने फरार छन्।
डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन्। उनीहरूले ६ महिनाअघि लेखा शाखाको ड्रबाट चेक चोरी गरेको बयान दिएका छन्। चेकमा अस्पताल निर्देशक डाक्टर गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ। गत भदौ १९ गतेको मितिमा काटिएको सो चेक विद्यार्थीहरूले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका थिए। अस्पताल निर्देशक डाक्टर साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।नागरिक दैनिकबाट