Logo

पौडेल समूहको छुट्टै भेला, देउवाले पेल्न खोजे अस्वीकार्य



काठमाडौं, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुँदैछ । तर, त्यो भन्दा अघि नै शीर्ष नेताहरु आ आफ्नो समूहको भेलामा व्यस्त छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज विहान भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आज आन्तरिक भेला तथा छलफल गरेको छ । पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निजी निवासमा भएको छलफलमा भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे कुराकानी भएको थियो ।

भोलिको बैठकमा सभापति शेरबहादुर देउवाले विभिन्न विभागकामा नियुक्ती गर्नेबारे तयारी गरेको थाहा पाएपछि आफूहरु आन्तरिक छलफलमा बसेको र अब विभागको नियुक्तीको कुनै औचित्य नभएको निश्कर्ष आजको पौडेल पक्षको भेलाले निकालेको केन्द्रिय सदस्य तथा पूर्व सांसद चन्द्र भण्डारीले जानकारी दिए । उनकाअनुसार आजको भेलामा भोलिको बैठकमा कुनैपनि हालतमा विभागको नियुक्ती गर्न नदिने निश्कर्ष निकालेको छ ।

पौडेल समूहले नेविसंघ लगायतका भातृ संगठनको बारेमा पनि भोलिको बैठकमा विशेष रुपमा एजेण्डा पेश गर्ने बुझिएको छ । देउवाले टिको लगाएर नेविसंघको नेतृत्व चयन गर्न खोजेको पौडेल समूहको आरोप छ । आफूहरु विधानअनुसार नै उमेर हदमा जानुपर्ने पक्षमा रहेको भण्डारीले जनाए । केन्द्रिय समितिको बैठकमा आफूहरुको सहमति र सल्लाहबिना अघि बढ्न खोजे र पेल्न खोजिए त्यो अस्विकार्य हुनेपनि पौडेलको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्