काठमाडौँ, २७ मंसिर । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ए’ बाहिर र आगमन कक्ष बाहिर परिसरमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ ।
सवारी साधन गुड्ने सडक नै ढाकिने गरी प्रत्येक दिन लाग्ने यो अनौठो भीडले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अस्तव्यस्ततालाई झल्काउँछ । प्रि–पेड ट्याक्सी सेवाका नाममा काउन्टर स्थापना गरी बसेका ट्याक्सी तथा हरियो नम्बर प्लेट सवारी चालकले यात्रुलाई तानातान गरेको देखिन्छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिहीवार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनअन्तर्गत प्रस्थान र आगमन कक्षका अतिरिक्त यहाँको सुरक्षा अवस्था, सरसफाइ, अध्यागमन सेवा, नयाँ प्रविधिको प्रयोग र सुधारका सम्बन्धमा स्थलगत अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो ।
विभेदको सुरुवात
वैदेशिक रोजगारमा जाने नेपालीमाथि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षबाटै विभेद गरिएको प्रष्ट हुन्छ । यहाँ चारवटा गेट प्रवेशद्वार छन् । तीमध्ये ‘ए’ बाट मात्र श्रम स्वीकृतिप्राप्त कामदारलाई प्रवेश अनुमति भएकाले गेटबाहिर प्रत्येक दिन बाक्लो भीड लाग्ने गरेको हो । विमानस्थलको चारवटा प्रवेशद्वारमध्ये दुईटा वैदेशिक रोजगारीमा जाने नेपालीलाई छुट्याउँदा भीड स्वतः हट्ने देखिन्छ । तर श्रम स्वीकृतिको समस्या देखाउँदै यो व्यवस्था हटाउनेमा प्रहरी, विमानस्थल कर्मचारी र श्रम कार्यालय सकारात्मक देखिँदैनन् ।
त्यस्तै प्रत्येक गेटमा एकजना सिपाहीले यात्रुको ‘अनुहार र टिकट’ हेरी प्रवेशको अनुमति दिन्छन् । यो प्राथमिक चरणको सामान्य सुरक्षा जाँच हो महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गणका प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भने, त्यसपछि तीन स्थानमा सुरक्षा जाँच हुन्छ । ’’ यात्रुको लगेज, ब्याग तथा झोलालगायतका सामग्री ‘बोर्डिङ पास’ बनाउनु पहिला एकपटक र पास बनाइसकेपछि दोस्रो पटक गरी दुईपटक एक्सरे मेसिनबाट जाँच हुन्छ, त्यसपछिमात्र सुरक्षा ट्याग लगाई लोड गर्न पठाइन्छ ।
परीक्षणको काइदा त्यस्तै यात्रुलाई पनि सुरक्षाकर्मीले बोर्डिङ पास बनाउन पूर्व र पास बनाई अध्यागमन स्वीकृत गरिसकेपछि पुनः वाकथ्रो मेसिन जडित गेटबाट र शरीर खानतलासी गरी सुरक्षा जाँच गरिन्छ । विमानस्थल प्रहरी प्रमुख उपाध्याय सुरक्षा व्यवस्थामा कुनै कमी कमजोरी नभएको बताएका छन् । हामीसँंग बडी–एक्सरे मेसिन छैन, त्यसको विकल्पको रूपमा वाकथ्रो मेसिन र हातैले शरीर छामेर जाँच गर्ने कार्य भइरहेको छ’ उनले थपे, अत्याधुनिक प्रविधिमैत्री सुरक्षा व्यवस्थासँगै अनावश्यक भीड हटाउन भैरहवा विमानस्थल सञ्चालनमा आउनैपर्छ । ’’ झोला र लगेजलगायतका सामग्री चेकजाँच गर्ने एक्स–रे मेसिन राख्न समस्या छ । प्रस्थानकक्षमा हाल चारवटा मेसिनबाट काम भइरहेको छ भने दुईटा सञ्चालनको तयारीमा छन् । एकैसाथ छवटा एक्सरे मेसिन सञ्चालनमा आउँदा झोला तथा लगेज लगायतका सामग्री चेकिङमा हुने ढिलासुस्ती हट्ने अपेक्षा गरिएको छ ।
गोरखापत्र दैनिकबाट