Logo

साउनमा दिएका निर्देशन अझै अलपत्र



काठमाडौं,मंसिर २७ । चाबहिल–साँखु सडकखण्ड विस्तारका लागि सरकारले चार वर्षअघि नै ठेक्का थियो । तर, निर्माणमा विलम्बका कारण त्यो सडकखण्ड अहिले पनि हिउँदमा धुवाँधुलो र वर्षामा हिलाम्मे हुने गरेको छ ।

सडक विस्तार ढिलाइका कारण आजित बनेका स्थानीयले चाँडो सडक निर्माण गर्न माग गर्दै सडक अवरोध गरेर विरोधसमेत गर्दै आएका छन् । त्यही सडकखण्डमा बिहीबार भने अलिक फरक दृश्य देखियो । प्रहरी स्कर्टिङसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसहित जनप्रतिनिधि त्यहाँ पुगेका थिए । उनीहरू त्यस सडकखण्डको अनुगमनमा पुगेका थिए ।

सो सडकखण्डमा पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्री अनुगमनमा गएको यो पहिलोपटक भने हैन । यसअघि साउन २०७५ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ हुँदा पनि नेपाल त्यहाँ पुगेका थिए । त्यस समयमा नै भदौभित्र सडक कालोपत्रे गर्न निर्देशन दिइएको थियो । तर, त्यतिबेला नेपाल र मन्त्री महासेठले दिएका निर्देशन कुनै पनि कार्यान्वयनमा आउन सकेको छैन । पुनः नेपाल अनुगमनमा मन्त्रीसहित त्यहाँ पुगेका हुन् ।

अनुगमनमा पुगेको टोलीसँग स्थानीयले आक्रोश पोखेका थिए । कतिपय स्थानीयले कति समय धुवाँधुलो खानुपर्ने भन्दै अनुगमन टोलीसँग प्रश्न गरेका थिए भने कतिपयले मुआब्जा नपाएको गुनासो गरे । उनीहरूले यो देशमा सरकार भए नभएको भान नभएको भन्दै चर्को आक्रोश पोखेका थिए ।

चाबहिल–साँखु र जोरपाटी–सुन्दरीजलको अवलोकनपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका काठमाडौं क्षेत्र नम्बर–२ का सांसद नेपालले ठेकेदारमाथि आक्रोश पोखे पनि ठेकेदार आफैंले काम गर्ने वातावरण बनाउन माग गर्दा कसैले सहयोग नगरेको भन्दै उल्टै जंगिए । नेता नेपालले सडकखण्डको काम पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए । विस्तारित सडकको काम चित्त बुझ्दो नभएको भन्दै नेता नेपालले खाल्डाखुल्डी पुर्न र गुणस्तरीय पिच गर्नुपर्ने बताए । कानुनी र आर्थिक समस्या भए आफूले सामधान गर्ने भन्दै उनले अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको समेत जनाए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण व्यवसासायीहरूले आफ्नो क्षमतालाई बढाउन आवश्यक रहेको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्