काठमाडौं, मंसिर २७ । प्रधानमन्त्रीलाई विज्ञ सल्लाहरसुझाव दिन नियुक्त भएका सल्लाहकारले प्रथम श्रेणीका कर्मचारीलाई ठाडो निर्देशन दिने ‘असंवैधानिक चलन’ सुरु गरेका छन्। राष्ट्रका नाममा शपथ नखाएका तर सुझाव दिनमात्र सम्बन्धित क्षेत्र तोकिएका विज्ञले सबै मन्त्रालयका प्रवक्तालाई बिहीबार बोलाएर के गर्न र के नगर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले प्रवक्ताहरूलाई पालैपालो डेढ घण्टाभन्दा बढी प्रवचन दिएका थिए। सल्लाहकारको काम जसले नियुक्ति दिएको उसैलाई ‘सल्लाह दिने’ मा सीमित रहनुपर्छ।
सहसचिवस्तरका प्रवक्ताहरूले ‘सल्लाहकारका गैरसंवैधानिक क्रियाकलाप अस्वाभाविक रूपले सहनुपरेको’ एक सहभागीले बताए। मन्त्रालयका प्रवक्ता तथा कर्मचारीको भूमिका प्रभावकारी नभएको र सरकारलाई असहयोग गरेको भन्दै यसमा सचेत रहनसमेत उनीहरूले निर्देशन दिएका थिए।
कर्मचारीले यसलाई सल्लाहकारले आफ्नो कार्यक्षेत्र मिचेर अनुचित स्वार्थ पूरा गराउने योजनाबद्ध अभ्यासको थालनीका रूपमा लिएका छन्। उनीहरूले यो विषय सचिवमार्फत प्रधानमन्त्रीलाई जानकारी गराउने र यथार्र्थ बाहिर ल्याउने पनि बताए।पूर्व प्रशासकहरूले यसरी सल्लाहकारले निर्देशन लिने कार्यले अराजकता बढ्ने ठहर गर्दै राजनीतिक नेतृत्वले निरुत्साहित गर्नुपर्ने आजको अन्नपूर्ण पोस्टमा खवर छ ।