Logo

दुर्घटनाको मुख्य कारण असावधानी



सिन्धुपाल्चोक, पुस १ । सिन्धुपाल्चोकमा पछिल्ला तीन महिनाभित्र लगातार तीन भयानक बस दुर्घटना भए। गत असोज र कात्तिकमा डेढ सयभन्दा बढी यात्रु घाइते बनाउँदै २९ को ज्यान लिएको बडहरे र सुनकोसी बस दुर्घटनाको घाउ सेलाउन नपाउँदै आइतबार भएको अर्को दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। यसले जिल्लाबासीलाई त्रसित बनाएको छ। उनीहरू सवारी यात्रादेखि डराउन थालेका छन्।

गत असोज २४ गते इन्द्रावती गाउँपालिकाको भोटसिपा बडहरेमा दसैंका यात्रु खचाखच बोकेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बर बस दुर्घटना हुँदा एकै गाउँका सातसहित ११ को मृत्यु भएको थियो। उक्त दुर्घटनामा एक सय ६ भन्दा बढी यात्रु घाइते भएका थिए।

चाडबाडको मुखमा भएको यो दुर्घटनाको शोकबाट उत्रँदै गर्दा कात्तिक १७ गते अर्को भयानक दुर्घटना निम्तियो। दोलखा जिल्लाको मागा देउरालीबाट राजधानी काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटेबाट सुनकोसी नदीमा खसेर दुर्घटना हुँदा १८ यात्रुको निधन भयो भने ५० घाइते भए।

पनि सवारी दुर्घटनामा मात्र ४३ यात्रुको मृत्यु हुँदा एक सय ७६ भन्दा बढी घाइते तथा अंगभंग भए। सडक र ठाउँ फरक भए पनि यी तीन दुर्घटनाका कारणमा तीनवटा संयोग र समानता भेटिन्छन्। ती हुन् चालकको असावधानी र बसको प्राविधिक अवस्थामा गरिएको हेलचेक्र्याइँ। ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जबरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने थोत्रो बस चलाउँदा सुनकोसी घटना निम्तिएको थियो। सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए।

आइतबारको दुर्घटनामा पनि चालकले सावधानी अपनाइएको पाइएन। दुर्घटनाका घाइतेका अनुसार चालकले चाहेको भए यो दुर्घटना टार्न सक्थे। बसबाट गन्ध आइरहेको थियो भने स्टेरिङ राम्ररी घुमिरहेको थिएन। बस रोकेर प्राविधिक पक्ष जाँच गर्नुको साटो उनले बल निकालेर स्टेरिङ घुमाउँदै यात्रा अघि बढाइरहे। अन्ततः भयानक दुर्घटना निम्तियो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्