Logo

इतिहासमै पहिलोपटक ‘ह्याच होलिडे’ घोषणा



बनेपा, पुस १ । नेपाली कुखुरापालनको इतिहासमै पहिलोपटक १० दिनका निम्ति ब्रोइलर ह्याच होलिडे चल्ला नकोरल्ने घोषणा भएको छ। मुलुकभरका ह्याचरी उद्यमीको शुक्रबार गैंडाकोटमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो। गत वर्षदेखि नै ब्रोइलर कुखुरापालनमा आएको समस्याले यस्तो अप्रिय निर्णय गर्न उद्यमीहरु बाध्य भएको नेपाल ह्याचरी उद्योग संघका महासचिव बलराम सञ्जेलको भनाइ छ।

‘मेसिनमा सेट भएका ह्याचिङ अण्डाहरु सबै नष्ट गर्ने निर्णय भएको छ। पुस ८ गतेसम्म देशभरका ह्याचरीले ब्रोइलर, कलर ब्रोइलर र क्रोइलर चल्ला निकाल्ने छैनन्,’ उनले भने। ह्याचरी उद्यमीले ‘ह्याच होलिडे’ अन्तर्गत १० दिनमा करिब ८० लाख ह्याचिङ भाले लागेको अण्डा नष्ट गर्नेछन्। यसबाट उद्यमीले करीब ३० करोड रुपैयाँ क्षति बेहोर्नुपर्ने हुन्छ।

संघका अनुसार ह्याचरीले विगतको मागलाई आधार बनाएर ब्रोइलर चल्ला निकालिरहे पनि चल्ला राख्ने किसानको संख्या घटिरहेको छ। सञ्जेल भन्छन्, ‘अर्कातिर दानाको कच्चा सामग्रीको भाउ अचाक्ली बढेर दाना महँगो छ। उधारोमा लगेको चल्लाको भुक्तानी आइरहेको छैन। हामीसँग भएका प्यारेन्ट माउ कुखुरालाई समेत दाना खुवाउन नसक्ने अवस्थामा पुग्यौं।’

संघमा साना र ठूला क्षमताका करिब अढाइ सय ह्याचरी आवद्ध छन्। आर्थिक वर्ष ०७५÷७६ मा ह्याचरीले नेपालसहित भारत, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, श्रीलंका, न्युजिल्यान्ड, अस्टे«लिया, फ्रान्स, जर्मनी, बेलायतबाट प्यारेन्ट स्टक किनेका छन्।

यसमा कब–५००, कब–५०० म्याक्स, भेनकब–४००, रोस–३०८, इन्डियन रिभर मिट, हब्बर्ड, कलर ब्रोइलर र क्रोइलर छन्। ह्याचरीहरुले सो अवधिमा १९ लाख ६४ हजार सात सय ५५ गोटा प्यारेन्ट स्टक राखेका थिए। यिनै प्यारेन्ट स्टकले पारेको ह्याचिङ अण्डाबाट एकदिने ब्रोइलर चल्ला निक्लने गरेको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्