Logo

तरुण दल र नेविसंघको समानान्तर समिति बनाउने रणनीतिमा पौडेल पक्ष



काठमाण्डौ । नेपाली कांग्रेसभित्रको किचलोले ठूलै रुप लिने संकेत देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पटक पटकको सहमतिको प्रयास असफल भएपछि केन्द्रिय समिति बैठक बस्न सकेको छैन ।

देउवा पक्षले पेलेरै जाने नीतिसहित बैठक राखेपछि पछिल्ला बैठकहरु पौडेल पक्षले बहिस्कार गर्दै आएको थियो ।

यसैबीच आज पौडेल पक्षले तरुण दलको भेला गर्यो । नेवि संघ र तरुण दलबारे पनि विवाद बढिरहेका बेला पौडेल पक्षले तरुण दलका आफू निकट नेताहरु भेला गरेर छलफल गरेको हो । छलफलमा सभापति देउवाले पेलेरै अर्थात सहमति नगरी तरुण दल र नेवि संघको अर्को समिति बनाएमा समानान्तर समिति बनाएर अघि बढ्ने कुरा भएको छ ।

मंगलबार पौडेल निकट नेता कार्यकर्तालाई महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा विशेष भेला बोलाइएको थियो । उक्त भेलामा दुवै भातृ संगठनमा देउवाले सहमति नगरे समानान्तर समिति बनाउने तयारी भएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।

पौडेल समूहले चार पदाधिकारी भएको तरुण दलको ६ महिना म्याद थप्नुभन्दा अब पोखरा महाधिवेशनको भावनाअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रस्ताव राखेको छ ।

नेवि संघमा संस्थापन पक्षले चार महामन्त्री प्रस्ताव गरेको छ । तर पौडेल समूहले उपसभापति, महामन्त्री र कोषध्यक्षमा भागवण्डा मिलाउन प्रस्ताव गरेको छ । साथै नेवि संघ र तरण दल मध्ये एकको नेतृत्व पाउनुपर्ने पौडेल समूहको अडान छ ।



प्रतिक्रिया दिनुहोस्