Logo

देउवाको प्रस्तावबारे पौडेल निवासमा बैठक



काठमाडौं, २ पौष । नेपाली काँग्रेसभित्रको विवाद समाधानका लागि एकपछि अर्को प्रयास सफल नभइरहँदा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिका लागि एकपछि अर्को नयाँ प्रस्ताव गर्दै आएका छन् । आफै भेटेर र उपसभापति विमलेन्द्र निधिलाई पठाएर देउवाले नयाँ प्रस्तावहरु लगिरहेपनि समाधान निस्कन सकेको छैन ।

देउवाले हिजै पौडेल पक्षसँग नयाँ प्रस्ताव गरेका छन् । जसअनुसार २०७७ सालको फागुनभित्र महाधिवेशन गर्ने र त्यसको कार्यतालिका समेत बनाउने रहेको छ । त्यसबाहेक देउवाले गठन गर्न लागेको विभागमा भागवण्डा समेत रहेको छ । यही प्रस्तावबारे छलफल गर्न पौडेल निवासमा पक्षधर नेताहरुको बैठक बस्दैछ । विहान बस्ने बैठकमा देउवाको प्रस्ताव र आगामी रणनीति तय गरिने पौडेल पक्षधर एक केन्द्रीय सदस्यले जानकारी गराए ।

२०७७ सालको मंसिरभित्र महाधिवेशन भइसक्नुपर्ने गरी कार्यतालिका सार्वजनिक गर्न पौडेल पक्षको माग रहेको छ । महाधिवेशनको तिथि पछि धकेल्न खोजेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । यही समयमा विभाग थप गर्न लागेकोमा असन्तुष्ट पौडेल पक्षले केन्द्रीय कमिटि बैठक बहिष्कार गर्दै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्