काठमाडौँ, ३ पुस । नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ । सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब बढेको हो ।
सरकारमा समाजवादी पार्टी र चुनाव तथा राष्ट्रिय मुद्दामा राजपासँग सहकार्यको नीति लिएर नेकपाले अनौठो राजनीतिक प्रयोग गरेको छ। जबकी प्रदेश–२ मा राजपा र समाजवादी पार्टी मिलेर सरकार चलाएका छन्।स्रोतका अनुसार समाजवादी पार्टी र राजपाबीच पार्टी एकताका लागि चरण–चरणमा वार्ता भइरहेका बेला नेकपा र राजपाबीचको सहकार्य अर्थपूर्ण छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेकपा र राजपाबीचको सहमतिले समाजवादी पार्टी सरकारबाट बाहिरिने र राजपा सरकारमा सहभागी हुने संकेत गरे। ‘सहमति नेपाली राजनीतिको टर्निङ पोइन्ट हुन सक्छ। यसले राष्ट्र निर्माणको नयाँ कोर्स लिन सक्छ। खास गरेर नेपाल राष्ट्र निर्माण र विकासका लागि’ छोटो प्रतिक्रियामा प्रवक्ता बाँस्कोटाले इकान्तिपुरसँग भने। बुधवार साँझ नेकपा र राजपाबीच भएको दुई बुँदे सहमति अनुसार राष्ट्रिय सभाको चुनावमा प्रदेश २ का ४ सीट मध्ये २–२ सीटमा नेकपा र राजपाले एक अर्काका उम्मेदवारलाई सहयोग गर्ने छन्।
यसबाहेक नेकपा–राजपाबीच ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने’ अर्को सहमति भएको छ। नेकपा–राजपाबीचको सहमतिलाई लिएर समाजवादी पार्टीले उपयुक्त निर्णय लिने प्रारम्भिक प्रतिक्रिया दिएको छ। ‘हामीले राजपासँग पहिला पनि गठबन्धन गरेका थियौँ। अहिले किन राजपा नेकपातिर गयो। हामी गहन छलफल गर्छौँ।’समाजवादी पार्टीकी नेतृ रेणु यादवले भनिन्, ‘भर्खर उहाँहरु ९नेकपा–राजपा० बीचको सहमतिको विज्ञप्ती आएको छ। पार्टीभित्र छलफल गरेर हामी उचित निर्णय लिन्छौँ।’ मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्रीले छलफल नगरेको भन्दै असन्तुष्ट समाजवादी पार्टीले संविधान संशोधन लगायतका विषयमा नेकपासँग छलफल गर्न उच्चस्तरीय वार्ता टोली बनाएकै बेला नेकपाले राजपासँग सहकार्यको नीति लिएको हो। राजपाले तत्कालका लागि राष्ट्रियसभाको चुनाव भए पनि नेकपासँग सहकार्यको बाटो फेरि खुला भएको प्रतिक्रिया दिएको छ। ‘राष्ट्रियसभाका लागि सहमति गरेको हो। दुई वटा मिल्दा चार वटै सीट जित्न सकिने अवस्था छ। नेकपाले सहकार्यका लागि हात बढाएको छ, यसले भविष्यमा सहकार्यको बाटो खोलेको छ।’ राजपा अध्यक्षमण्डलका एक सदस्य राजकिशोर यादवले भने, ‘अहिले नै यसलाई संविधान संशोधनसँग जोडेर हेर्नु हुँदैन। नयाँ विषयमा थप छलफल र सहकार्य गर्छौँ।’
कान्तिपुर दैनिकबाट