Logo

काठमाडौंबाट अपहरण गरी हेटौंडा लगिएका युवकको यसरी भयो उद्धार



मकवानपुर, ३ पुस । अपहरणमा परेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । रामेछाप दोरम्बा गाउँपालिका घर भएका २१ वर्षीय नरेश थापा मगर काठमाडौंबाट अपहरणमा परेका थिए । काठमाडौं टोखा नगरपालिका ३ डेरा गरी बस्ने उनलाई अपहरणकारीले हेटौडा पुर्याए ।

अपहरणको जानकारी पाएपछि प्रहरी तत्काल सक्रिय भई बुधबार दिउँसोसकुशल उद्धार गर्न सफल भयो । अपहरणमा संलग्न रहेको अभियोगमा पाँच जनालाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेबाट पक्राउ गर्यो । पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिकाको किसन गुरुङ, सोही ठाउँ बस्ने आशिक लामा, काठमाडौं बानेश्वर बस्ने धनगढी घर भएका आशिष सिजापती, कन्चनपुर श्रीपुर गाउँपालिका ६ बस्ने सुनिता धामी र मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ लामसुरे बस्ने चितवन मेघौली घर भएकी ३६ वर्षीया सरस्वती तामाङ रहेका छन् ।

बुधबार बिहान अमलेखगंजबाट काठमाडौं जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा.२ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको र काठमाडौं महानगरपालिका ४ बस्ने काभ्रे मंडल देवपुर नगरपालिका ९ घर भएका सरोज सापकोटालाई कुटपिट गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरीले मगरलाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेस्थित सरस्वती तामाङको घरमा बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो ।

अपहरणमा संलग्न उनीहरूलाई अपहरण कार्यमा प्रयोग गरिएको ट्याक्सी सहित पक्राउ गरी उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा संलग्न फरार रहेका अन्य ४ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।-सांकेतिक तस्बिर



प्रतिक्रिया दिनुहोस्