काठमाण्डौ । शैक्षिक संस्थाले शिक्षा दिन्छन् । प्रमाणपत्र दिलाउँछन् । तर शैक्षिक जनशक्तिले रोजगार पाउँदैनन् । विभिन्न तहको शैक्षिक योग्यता हासिल गरेपछि शैक्षिक संस्थाले दीक्षित गर्छ, तर दीक्षित भएपछि अब के गर्ने भन्ने अन्योल विद्यार्थीमा देखिन्छ ।
त्रिभुवन विश्वविद्यालय ४५ औँ दीक्षान्त समारोहमा १० हजार १ सय ८४ विद्यार्थीलाई दिक्षित गर्यो । दीक्षान्त कार्यक्रममा निकै उत्साह देखिएएको थियो । दीक्षित हुँदा विद्यार्थीमा जति उत्साह छ, त्योभन्दा निराशा अब के गर्ने भन्ने छ । अर्थात शैक्षिक योग्यता हासिल गरेसकेपछि पनि बेरोजगार बस्नुपर्ने अवस्थाले विद्यार्थी चिन्तित छन् ।
चिकित्सा शिक्षा अध्ययन सकेका डा. चदर केसी दीक्षित भए । तर अब नेपालमा रोजगारी नपाइने चिन्ताले उनलाई सताएको छ । धेरै मिहिनेत गरेर हासिल गरेको शिक्षाको सदुपयोग गर्न नपाउने र विदेश जानुपर्ने बाध्यताले उनी दीक्षित हुँदा पनि खुशी हुन सकेका छैनन् ।
कृषि तथा पशु विज्ञानमा स्नातक तह पूरा गरेकी प्रदिपा सुनुवालको चिन्ता पनि उस्तै छ । पढाई त सकियो । अब आफूले हासिल गरेको ज्ञान कहाँ प्रयोग गर्ने ? उनी अहिलेसम्मको अध्ययनलाई ओझेलमा राखेर अब कसरी विदेश जाने भन्ने ध्यानमा छिन् । पढाईमा गरेको ठूलो खर्च र प्राप्त गरेको ज्ञानबीच तालमेल नभएको उनको गुनासो छ ।
दीक्षित हुने सबै विद्यार्थीको पीडा उस्तै छ । अर्का विद्यार्थी प्रजल मल्ल पनि स्वेदशमा रोजगार नभएकाले अब के गर्ने भन्ने अन्योलमा छन् । दक्ष जनशक्ति उत्पादन भए पनि तिनका लागि रोजगारीको अवसर सृजना नगरिएकोमा सरकारप्रति उनी रुष्ट छन् ।
त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् । त्यसैगरि कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् । यस्तै विद्यावारिधि (पीएचडी.) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् ।
त्रिविले विभिन्न संकायमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ । दुःख गरेर अध्ययन गरेका विद्यार्थी शैक्षिक जनशक्तिको रुपमा उत्पादन भइसकेपछि के गर्ने भन्ने अन्योल हुनु देशका लागि घातक हो । सरकारले रोजगारी सृजना गर्नुको साटो विदेशी भूमिमा पठाउने र रेमिट्यान्सको फाइदा लिने मात्रै गरेको छ । जसले गर्दा देश विकासमा समेत गम्भीर धक्का लाग्दै आएको छ ।