काठमाडौँ, ४ पुस । चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य थोराङ्ला भन्ज्याङ ९५,४१६ मिटर यति बेला हिमपातले सेताम्मे छ । चिसो बढेको छ । पर्यटक भने यही हिउँ र चिसोमा रमाउँदै पदयात्रा गरिरहेका छन् । शुक्रबार र शनिबार हिमपातले रोकिएका पर्यटक आइतबारदेखि गन्तव्यतिर लागेका छन् । ‘हिउँ पर्दा मात्रै गोराहरू हिँड्दैनन् । रोकिएपछि खेलीखेली हिँड्दा रहेछन्,’ मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भने, ‘चिसो महसुस गरेका छन् । रमाएका पनि छन् ।’
हिमपातपछि तल्लो मनाङको नासों गाउँपालिका–९ दानाक्युदेखि सवारीसाधन चामे तथा माथिल्लो क्षेत्र जान सकेका छैनन् । दानाक्युदेखि तिमाङसम्म हिउँ पग्लिएर बाटो हिलाम्मे रहेको नेपाल प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले बताए । दैनिक २० देखि २५ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका संरक्षण कार्यालय मनाङअन्तर्गत तल्लो मनाङको धारापानी चेकपोस्टकी पर्यटक सहायक सोमी गुरुङले बताइन् । बेंसीसहरबाट सवारीमा आएका पर्यटक माथिल्लो क्षेत्र हिँडेर जाने गरेका छन् । बाटो अवरुद्ध नभएको बेला पर्यटक बेंसीसहरदेखि सीधै माथिल्लो मनाङ क्षेत्रसम्म पुग्थे । आइतबारदेखि माथिल्लो क्षेत्रमा घाम लागेको एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाको भनाइ छ । ‘हिउँ परेपछि हावाहुरी चल्यो । त्यसले हिउँ उडाइदियो । भएको हिउँ पनि बिस्तारै पग्लिन थालेको छ,’ उनले भनेव, ‘पर्यटक खुसीसाथ हिँडेका छन् ।’
पर्यटक हिँड्ने पदमार्ग सेना र प्रहरी मिलेर चामे क्षेत्रमा सरसफाइ गरिएको मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चामेका डीएसपी रमेश भुवाजीले बताए । ‘सरसफाइपछि पर्यटक र स्थानीयलाई सजिलो भएको छ,’ उनले भने । हिमपातपछि स्थानीयको जनजीवन प्रभावित भए पनि पर्यटकलाई भने खासै फरक नपरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको भनाइ छ । ‘हामीलाई चिसोले गाह्रो बनाएको छ । यही चिसोमा हिउँ खेल्दै पर्यटक हिँडेका छन् । उनीहरू रोकिएका छैनन्,’ उनले भने । पर्यटकलाई हिउँ परेका बेला भने नहिँड्न सुझाएको उनले बताए ।
कान्तिपुर दैनिकबाट