काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि विवाद बढेको छ ।
राष्ट्रपति भण्डारीले बोलाएपछि नेकपाका नेताहरु प्रदिप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, जनार्दन शर्मा, शक्ति बस्नेत र घनश्याम भुसाल शितल निवास पुगेका हुन् ।
यो विषयले पार्टीभित्र विवाद चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहाललाईसमेत जानकारी नदिई नेताहरु शितल निवास पुगेपछि दाहालसमेत रुष्ट बनेको छन् । अझ माधबकुमार नेपाल पक्षधर नेताहरुले त तिब्र असन्तुटी जनाएका थिए ।
शितल निवास पुगेर नेताहरु धुम्बाराही पुग्नासाथ नेपाल पक्षधर नेता भीम रावललगायतले असन्तुष्टी जनाएका थिए । भण्डारीले हिजै भेटनका लागि नेताहरुलाई शितल निवास बोलाए पनि नेताहरुले समय मिलाएर आज ११ बजे पुगेका थिए । १ बजेसम्म बसेका नेताहरुले राष्ट्रपति निवासमै खाना खाएर फर्किएका थिए ।
सरकारको प्रभावकारीता र ऐन कानुनको बारेमा कुराकानी भएको छलफलमा भएको शितल निवास पुगेका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा पनि चासो राखेको ति नेताले रिपोर्टस नेपाल डटकमलाई जानकारी दिए ।
जे जे विषयमा छलफल भए पनि यो भेटलाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टीभित्र हस्तक्षेपको रुपमा बुझेका छन् । स्थायी कमिटि बैठक बसिरहेका बेला भएको भेटबारे दाहालले शितल निवास गएका नेताहरुलाई प्रश्न गरेका थिए । प्रश्न गरेपछि राष्ट्रपतिसँगको भेटमा भएको कुराकानीबारे प्रदिप ज्ञवालीले जानकारी गराएका थिए । ज्ञवालीले सामान्य भेटघाट भएको भन्दै ठूलो इस्यु नबनाउन आग्रह गरेका थिए ।
ज्ञवालीले जवाफ दिएपछि पनि भीम रावललगायतका नेताहरुले असन्तुष्टी व्यक्त गरेपछि तत्कालका लागि अध्यक्ष दाहालले परिस्थित सामान्य बनाएका थिए ।
जनार्दन शर्मा र देवेन्द्र पौडेलले आफूहरु जानु गल्ती भयो भनेपछि दाहालले पनि विवाद नलम्ब्याउन आग्रह गरेको एक नेताले बताए । यद्यपी यो विषयले नेकपाभित्र थप विवाद चर्किने देखिएको छ ।
कतिपय नेताहरुले त राष्ट्रपति भण्डारीले पार्टीभित्र कू गर्न खोजेको आरोपसमेत लगाएका छन् । तर ओली पक्षधर नेताहरुले भने राष्ट्रपतिलाई भेट्दैमा अन्यथा सोच्न नहुने बताएका थिए ।
यसअघि पनि अध्यक्षद्धय ओली र प्रचण्डले राष्ट्रपतिलाई भेटेपछि धेरै नेताहरुले असन्तुष्टी व्यक्त गरेका थिए । त्यसपछि दाहाल र ओलीले आवश्यक परे एक्ला एक्लै राष्ट्रपतिलाई भेट्ने सहमति गरेका थिए ।
भण्डारीले विगतमा पनि सरकारले गर्ने नियुक्तिमा चासो राख्ने, हस्तक्षेप गर्ने, पकड राख्ने गरेको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री केपी ओलीले पनि भण्डारीले जे भन्यो त्यही गर्न खोज्ने प्रवृत्तिका कारण राष्ट्रपतिको हस्तक्षेप बढ्दै गएको नेताहरुको बुझाई छ ।