काठमाडौँ, ७ पुस । झुठो विवरण पेश गरी नागरिकता लिने एक भारतीयलाई सर्लाहीको बरहथवाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २० वर्षीय सिताराम सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बरहथवा नगरपालिका २ का आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिएका छन् । राजपुतले निरज भण्डारी नाम राखेर पुष ३ गते इलाका प्रशासन कार्यालय बरहथवा सर्लाहीबाट नागरिकता लिएका छन् ।
मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि हजरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजपुत पक्राउ परे पनि मामा गिर्ज भने फरार छन् । पक्राउ पर्ने राजपुतलाई झुठा विवरण पेश गरी नागरिकता लिएको भनी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पोष्ट्बाट