Logo

बैतडीमा प्याराग्लाइडिङ सफल



काठमाडौँ, ७ पुस। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । बैतडीको पाटन, दोगडाकेदार र गोकेलेश्वरमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताए ।

तीन ठाउँमा परीक्षण गरिएको प्याराग्लाइडिङ उडान बैतडीको पाटनमा सबैभन्दा राम्रो रहेको पोखराबाट बैतडी आएका प्याराग्लाइडर सागर कार्कीले बताए। उनले भने, बैतडीको पाटन प्याराग्लाइडिङका लागि एकदमै उपयुक्त देखियो । बैतडीको पाटन आफैँमा सुन्दर ठाउँ पनि छ । पाटनपछि दोगडाकेदार र गोकुलेश्वर पनि राम्रो देखिएको छ । प्याराग्लाइडिङको सफल उडानले बैतडीमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने सम्भावना बढेको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताए। कार्कीले भने, भ्रमण वर्ष सफल पार्न बैतडीमा प्याराग्लाइडिङ, जिपलाइन र ¥याफ्टिङको काम अघि बढेको छ । दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा दोगडाकेदारको सिल्लेगडामा १३ सय मिटर जिपलाइनको डीपीआरसमेत तयार भएको छ । त्यसै गरी चमेलिया, सेती र महाकालीमा ¥याफ्टिङको तयारी भइरहेको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा बैतडीको पाटन, ग्वाल्लेक, त्रिपुरा सुन्दरी, मेलौली, सिगास, पाताल भूमेश्वर, जगन्नाथ मन्दिर, मेलौलीलगायतका ठाउँ घुम्न लायक छन् । बैतडीको पाटन विमानस्थलको कालोपत्रेको काम सुरु भएकोले हवाई उडान हुन सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिन सक्ने सम्भावना बढेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए। समन्वय प्रमखु भट्टले भने, भ्रमण वर्ष सफल पार्न नेपाल सरकारले जुन गतिमा काम अघि बढाएको छ, त्यो गतिमा स्थानीय तह अघि बढेको देखिएन । भ्रमण वर्ष सफल पार्न केही स्थानीय तहले गुरुयोजना बनाए पनि अधिकांश स्थानीय तहले कार्यालयको लेटरपेडमा भ्रमण वर्षको लोगो मात्रै राखेको देखियो ।

भ्रमण वर्ष २०२० मा बैतडीका कुन स्थानीय तहमा घुम्न र हेर्न लायक ठाउँ पहिचान गरेर प्रचारप्रसार गर्नुपर्ने उनले बताए । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन् । भ्रमण वर्ष २०२० का लागि दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकाले पर्यटकीयस्थलको गुरुयोजना बनाएर काम अघि बढाएको जानकारी दिएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्