काठमाडौं, ७ पौष । नयाँ सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुने निश्चितप्रायः भएपछि अन्य दलहरुले उपसभामुखको दाबी गरिरहेका छन् । संविधानबमोजिम एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था भएकाले नेकपाले सभामुख दाबी गरेको अवस्थामा अन्य दलबाट मात्र उपसभामुखको उम्मेदवारी हुनेछ ।
उपसभामुखका लागि दुईवटा दलको मुख्य दाबी छ । राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीको दाबी देखिएको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेल उपसभामुखको दाबेदार हुन् । जनमोर्चाले उपनिर्वाचनमा नेकपासँग चुनावी गठबन्धन बनाउँदा नेकपाले पौडेललाई सघाउने चर्चा चलेको थियो । यसका लागि जनमोर्चा नेता मोहनविक्रम सिंहले पनि लबिङ गरेका छन् ।
उपसभामुखमा राजपाको दाबी देखिएको छ । राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले खुलेरै उपसभामुख दाबी रहेको बताइसकेका छन् । राजपाले उपसभामुख पाउनकै लागि नेकपासँग राष्ट्रियसभा चुनावमा चुनावी गठबन्धन बनाइसकेको छ । सभामुख र उपसभामुखको चुनावमा पनि गठबन्धनको पहल भइरहेको छ ।
राजपाले उपसभामुख पाएमा चन्दा चौधरीको सम्भावना बलियो छ । चौधरी विगतमा राज्यमन्त्री भइसकेकी छिन् । राजपाभित्र मात्र नभई राजनीतिमा सक्रियमध्ये मधेशी समुदायबाट निकै सक्रिय महिलामा परिचय स्थापित गर्न सफल छिन् ।