काठमाडौँ, ८ पुस। जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ ।
जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको छ । विशेषगरी पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञ डा. जुन डङ्गोलले जानकारी दिए। उनका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन् । यसैकारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ । छ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गरिनुपर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरूमा धेरै समस्या नदेखिने डा. डङ्गोलको भनाइ छ ।
यता पोषणविद् अरुणा उप्रेतीले भने, “चिसो मौसमका कारण अधिकांश बालबालिका बिरामी पर्छन् । हामीले जाडोमा अझ उनीहरूको उचित ख्याल राख्नुपर्दछ ।” उनले जाडोमा रुघाखोकी, ज्वरो, घ्यारघ्यार हुने, हातगोडा फुट्ने र टाउको दुख्नेजस्ता समस्या हुने भएकाले अभिभावकहरूले राम्ररी रेखदेख गर्नुपर्ने सुझाव दिए । बालबालिकामा चिसो मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्या देखा नपरोस् भन्नका निमित्त बच्चाले लगाउने कपडादेखि खाने खानामा समेत विशेष ध्यान दिनुपर्ने डा. उप्रेतीको जोड छ । उनले बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, टोपी र मोजा लगाइदिनुपर्ने सुझाव दिए । डा. डङ्गोलको पनि भनाइ फरक छैन । उनी भन्छन्, “जाडोको बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर अभिभावकले धेरै लुगा लगाइदिने गर्छन् । यसले बालबालिकालाई न्यानोभन्दा थप समस्या ल्याउनसक्छ । धेरै लुगा लगाइदिँदा बालबालिकालाई पसिना आउनसक्छ र उक्त पसिना शरीरमा नै सुकेपछि उनीहरूलाई चिसो लाग्छ, जसले रुघाखोकी, निमोनियाजस्ता समस्याले सताउन सक्छ । बाक्लो लुगा लगाइदिएको अवस्थामा बेलाबेलामा पसिना आए÷नआएको हेर्नुपर्छ ।”
“बालबालिकालाई न्यानो होस् भन्नका लागि कपास भएको लुगा पनि लगाइदिने गरिन्छ, त्यसले पसिना सोस्छ र कपडा चिसो नै रहिरहन्छ । त्यसैले यस प्रकारको भन्दा सुतीको तीनपत्रे गरी सिलाइएको लुगा उपयुक्त हुन्छ,” उनले भने।
बालबालिकालाई जाडो मौसममा बिहानीपखको घाममा सुताउने गर्नुपर्ने सुझाव दिँदै भने, “दिनको १२ बजे अगाडिको घाममा सुताउँदा बालबालिकाको शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी’ पर्याप्त मात्रामा पुग्छ । घाममा सुताइरहेको अवस्थामा शुद्ध तोरीको तेल, नरिबलको तेल वा घ्युकुमारीको तेलले मालिस गरिदिनु राम्रो हुन्छ तर बालबालिकालाई तेल लगाउँदा कान, नाक, नाइटोमा भने लगाउनु नहुने जसले सङ्क्रमण निम्त्याउन सक्छ ।”
गोरखापत्र दैनिकबाट