Logo

भ्रमण वर्ष २०२० आइसक्यो : टेकोकै भरमा सम्पदा



काठमाण्डौ । भ्रमण बर्ष सुरु हुन एक हप्ता मात्रै बाँकी छ । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पुर्वधारको तयारी कम गरे पनि सरकारले लक्ष्य भने महत्वकांक्षी राखेको छ । भ्रमण बर्ष सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा सरकारको तयारी खासै उत्साहप्रद छैन् ।

पर्यटन पूर्बाधारमा निकै कमजोर मानिएको नेपालको पर्यटन क्षेत्र संभावना भएर पनि सरकारको आँखाबाट टाढा छ । १२ लाख पर्यटक भित्र्याउन मुश्किल परेको नेपाललाई २० लाख पर्यटक ल्याउन पूर्बाधार नै बाधक बन्ने सम्भावना देखिन्छ । प्राकृतिक सौन्दर्य बाहेक पर्यटकले चासो राख्ने रीतिरिवाज, परम्परा, पुराना ऐतिहासिक सम्पदा, र कलाकौशलको उचित व्यवस्थापन भएको छैन । ऐतिहासिक र पुरातात्विक पूर्वाधार अझै टेकोको भरमा अडिएका छन् ।

अहिले पनि वसन्तपुर, पाटन, भक्तपुर जस्ता पर्यटकीय स्थलमा जाने हो भने महत्वपूर्ण सम्पदालाई टेको लगाएर राखेको देख्न सकिन्छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदा पुनर्निर्माण हुन नसक्दा भ्रमण वर्षलाई नै टेको लगाएर अड्याउन खोजेजस्तो देखिन्छ ।

भुकम्पपछिको पुनर्निर्माणमा सरकार उदासिन देखिदाँ निर्माण थालिएका सम्पदा पनि अलपत्र छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गर्न सबैलाई आग्रह गरेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धि निजी क्षेत्रका व्यवसायीलाई भ्रमण वर्ष सफल बनाउन सहयोगका लागि मन्त्री भट्टराईले आग्रह गरेका हुन् ।

सरकारले रोखेको २०२० मा नेपालमा २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी योजना भेट्न मुश्किल पर्ने देखिन्छ । सरकारको तयारी कम नभएकोले लक्ष्य हासिल गर्नेमा शंका उब्जिएको गर्दछ । तर सरकारले भने भ्रमण बर्षलाई सफल बनाउन बाह्रैमास पर्यटक ल्याउने गरी योजना बनाउँदै काम अघि बढेको नेपाल भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको दावी छ ।

सगरमाथामा फोहोर, ट्राफिक जाम, आरोहणमा हुने मृत्यु, अव्यवस्थित तथा कुरुप पदमार्ग र फेक रेस्क्युका कारण नेपालको पर्यटन विश्वबजारमा बद्नाम हुदै गएको छ । सरकारले घोषणा मात्रै गर्नै तर कार्यान्वयनमा उदासिन देखिने प्रवृत्तिले भ्रमण वर्ष सफल होला र भन्ने प्रश्न भने यथावत नै छ । विगतमा नेपालमा पर्वतीय गन्तब्य र साहसिक गतिविधिका लागि मात्रै पर्यटक आउने गरेकोमा अब कला संस्कृतिका क्षेत्रलाई पनि उजागर गर्न सरकारले नयाँ अभ्यास थाल्न आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्