Logo

व्रतबन्धमा प्रतिबन्ध



काठमाडौँ, ९ पुस । पशुपति क्षेत्रका केही भण्डारीका सन्तानहरू व्रतबन्धबाट वञ्चित छन् । पशुपतिको चारकिल्लाबाहिर जन्मेका र विवाहपछि पशुपति मन्दिर नघुमेकालगायत कारण देखाउँदै व्रतबन्ध रोकिएको हो । पशुपति क्षेत्र विकास कोषले अनुमति नदिएकाले तिथि तोकिएर पनि केही भण्डारीका सन्तानको व्रतबन्ध हुन नसकेको हो ।

पशुपतिका भण्डारी केदारमान भण्डारी गर्भवती पत्नी ज्ञानुलाई ओम अस्पताल दौडाउनुपरेको सम्झिरहन्छन् । ८ महिनाको गर्भवती उनलाई अचानक समस्या देखिएकाले पशुपति क्षेत्रभित्रै पर्ने भएकाले ओम अस्पताल लगेका थिए । अस्पतालले तुरुन्तै शल्यक्रिया गर्नुपर्छ भनिदियो । ‘अप्रेसन गर्नुपर्छ, एक लाख रुपैयाँ जम्मा गर्नुस् भन्न थाल्यो अस्पतालले । कहाँ अप्रेसन गर्नु ’ केदारले भने, ‘त्यहाँबाट ट्याक्सी लिएर प्रसूतिगृह गयौं । त्यहाँ लैजान निषेध थियो, जेसुकै होस् भनेर लग्यौं ।’ प्रसूतिगृह लगेपछि अप्रेसन गर्नुपरेन । सामान्य जाँच गरेर पठाइदियो । एक महिनापछिको डेट दियो । दिएको डेटमा प्रसूतिगृह गएँ । नर्मल डेलिभरी भयो । ‘खर्चै भएन, उल्टै एक हजार रुपैयाँ भत्ता पो पाइयो,’ भण्डारीले भने, ‘झन्डै लाख रुपैयाँ खर्च भइसेको थियो ।’

पशुपतिनाथ मन्दिरको भण्डारी हुन पशुपति क्षेत्रको चारकिल्लाभित्रै जन्मेको हुनुपर्ने व्यवस्था छ । चारकिल्लाभित्र प्रसूति सेवा ओम अस्पतालमा मात्रै छ । ओम अस्पताल सामान्य आर्थिक अवस्था हुनेको पहुँचमा छैन । पहुँचमा नभएकाले उपचार गर्न प्रसूतिगृह लगायत सुलभ प्रसूति सेवा दिने अस्पतालमा जानबाट वञ्जित हुनुपर्ने अवस्था छ । ‘धन्न छोरी जन्मिइन्,’ भण्डारी भन्छन्, ‘छोरा जन्मेको भए भण्डारी हुनबाट वञ्चित हुनुपर्ने अवस्था आउने थियो ।’ कोषले अनुमति नदिएकाले व्रतबन्धको तिथि तोकिएर पनि रोकिएर समस्या व्यहोर्नेमध्येका विजय राजभण्डारी पनि हुन् । उनले छोरा सिर्जनको व्रतबन्ध गर्न गत वैशाख २४ मा साइत जुराएका थिए । निम्ता गर्न कार्डसमेत छपाइसकेका थिए । व्रतबन्ध गर्नुभन्दा ३५ दिन अगाडि कोषलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाअनुसार जानकारी पनि दिएका थिए । तर, कोषले अनुमति दिएन । ‘व्रतबन्ध रद्द गर्नुपर्‍यो,’ भण्डारीले भने, ‘कोषले कहिल्यै नभएको विवाद निकालेर व्रतबन्ध रोकिदियो ।’

कोषले भण्डारीको व्रतबन्ध रोकिनुको कारणचाहिँ बुबाआमाको बिहेमा सामान्य प्रक्रिया नमिलेको देखाएको छ । नाबालक भण्डारी हुन बुबाआमाको विवाहदेखि नै प्रक्रिया पुर्‍याउनुपर्छ । पहिलो प्रक्रिया आफ्नो स्वजातिमा विवाह गर्नुपर्छ । विवाहमा पशुपतिमा बजाउने पञ्चैबाजा बजाउनुपर्छ । पञ्चैबाजा नभए अन्य बाजा बजाउँदा पनि हुन्छ । यसरी ल्याइएका दुलहीलाई पशुपतिनाथ दर्शन गराउनुपर्छ । मन्दिर प्रांगण परिक्रममा गराएपछि नेवारी पुरोहितले नेवारी विधिअनुसारै घर भित्र्याउनुपर्छ । त्यसरी भित्र्याएका दुलहादुलहीलाई घरको थकाली महिलाले सगुन दिन्छन् । सफलताको कामना गर्छन् । घर परिवारसँग नाता जोडियो भन्दै सुपारी दिने चलन छ । विजय दम्पतीले अरू सबै प्रक्रिया सुरु गरे । तर मन्दिर परिक्रमा गरेन । ०७५ मा गोरखा धुवाकोटबाट बेहुली ल्याउँदा रात पर्‍यो । त्यही भएर मन्दिर घुम्न पाएनन् दुलाहादुलही ।

‘बाटोमा दुर्घटना भएछ । त्यही कारण जन्ती तीन घण्टा एकै ठाउँमा रोकियो,’ सिर्जनकी आमा इन्द्रमायाले भनिन्, ‘घर आइपुग्दा मध्यराति भएको थियो । त्यही भएर मन्दिर परिक्रमा गरिएन । अहिले यही कारण देखाएर व्रतबन्ध रोकिएको छ ।’ पशुपतिका भण्डारीले आसापास सुविधा सम्पन्न प्रसूति सेवा उपलब्ध गराउन माग गरेको वर्षौं भएको छ । तर कोषले भण्डारीको गुनासो सुनुवाइ गरेकै छैन । ‘पशुपति क्षेत्रभित्रै जन्मनुपर्ने परम्परा जोगाउनुपर्छ । तर त्यसका लागि यहाँ सुविधाजनक प्रसूति सेवा त हुनुपर्‍यो नि,’ भण्डारीले भने, ‘परम्परा धान्ने भन्दैमा ज्यानै खतरामा राख्नु त भएन नि । पहिला सुविधाजनक अस्पताल नहँुदा घरमै बच्चा जन्माउँथे । आमा र बच्चाको ज्यानसमेत गएका घटना थुप्रै छन् त्यतिबेला । अहिले पनि त्यही अवस्थामा बाँच भन्नु त भएन नि ।’ कोषले जुन परम्पराअनुसार भण्डारी चाहिने हो, त्यो परम्परा जोगाउनु कोषको दायित्व भएको जनाएको छ । ‘नियमावलीमै यही व्यवस्था छ,’ कोषका संस्कृति महाशाख प्रमुख प्रेमहरि ढुंगानाले भने, ‘मूल भण्डारीले यो–यो बालक भण्डारी परम्पराविपरीत छ भनेपछि कोषले अनुमति नदिएको हो । सांस्कृतिक कुरा धेरै छन् ।’ उनले थोरै क्षमताको भए पनि प्रसूति केन्द्रको आवश्यकता रहेको बताए । ‘बरु चारै सिटको होस्, भण्डारीका लागि मात्रै यहाँ प्रसूति केन्द्र चाहिन्छ,’ ढुंगानाले भने, ‘अप्रेसन गर्नेसम्मको सुविधा भएको प्रसूति केन्द्र यहाँ चाहिन्छ भन्ने कोषको धारणा छ ।’

व्रतबन्ध रोकिएका सिर्जनजस्ता तीन किशोर छन् पशुपति क्षेत्रमा । माधव राजभण्डरीले छोराको व्रतबन्ध गर्ने योजना बनाएको ९ वर्ष भयो । ०६७ मै योजना बनाएका थिए छोरा साजनको व्रतबन्ध गर्न । ०६७ पुसमा व्रतबन्ध गरिपाऊँ भनेर निवेदनै दिए । त्यसको दुई वर्षपछि ०६९ पुस ९ मा फेरि अर्को निवेदन दिए । त्यसयता चार पटक निवेदन दिइसकेका छन् । उनको निवेदनको पनि सुनुवाइ भएको छैन । उनलाई चाहिँ के कारण रोकिएको हो जानकारी पनि दिएका छैनन् । ‘हुन्छ भन्छन्, उनले सुनाए, ‘तर दिँदा पनि दिँदैनन् ।’ उनका छोरा ओम आशिष व्रतबन्धका लागि निवदेन दिँदा १२ वर्ष हुन ३ महिना बाँकीका थिए । ०६७ माघ २१ को साइत निकाले व्रतबन्ध गर्न लागेका थिए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्