Logo

देउवा–पौडेल निकम्मा, युवा नेताले खोजे विकल्प



काठमाण्डौ । दुइ साता यता नेपाली कांग्रेसभित्रको १४ औं महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको विवादले झन उग्ररुप लिएको छ । गत मंसिर २६ गतेबाट सुरु भएको कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएका कारण केन्द्रिय समिति बैठकसमेत सरेको सर्यै छ । नेतृत्व र शीर्ष तहका नेताहरका कारण कांग्रेस कमजोर बनेको भन्दै युवा नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षविचको विवादकै कारण कांग्रेसको बिहिबारको लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुन सरेको छ । दुई पक्षविच देखिएको विवाद समाधानको लागि प्रयास भइरहेको भन्दै आगामी शक्रुबार १ बजेसम्मको लागि बैठक पुन सरेको हो । यसअघि मंसिर ३०, पुस २ र ४ गते बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो।कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ बाट सुरु भएको थियो ।पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागका संख्या २८ बाट बढाएर ४१ पु¥याउने प्रस्ताव बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलमा देखिएको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएका छन् ।

पार्टीभित्र देखिएको नेतृत्वविचको लडाइले पार्टी नै सकिने त होइन भन्ने सम्मको चिन्ता बढेको नेताहरुको दुखेसो छ । पार्टी नेतृत्व नै गुटको राजनीतिमा लागेका कारण पार्टी यो अवस्था आएको केन्द्रिय सदस्य प्रदीप पौडेल बताउँछन् । भोलिको बैठक सूर्य ग्रहणका कारण पर्सी सारिएको भए पनि नेताहरुबीचको टकराबले लामो समयसम्म पार्टी अनिर्णयको बन्दी भएको पौडेल बताउँछन् ।

आन्तरिक झमेला र समस्या बढिरहेको छ भन्ने सन्देश दिनु नेतृत्वको गल्ती भएको उनी बताउँछन् । पटकपटक केन्द्रिय समिति बैठक स्थगित हुनुमा शीर्ष नेताहरु दोषी भएको बताउँदै उनले सरकारले गरेका गलत कामविरुद्ध उभिनुपर्ने बेलामा आन्तरिक समस्यामा अल्झिदा कांग्रेस कमजोर भएको पौडेल बताउँछन् ।

११ गते बस्ने बैठकमा भने सहमति हुने पौडेल बताउँछन् । तर अहिलेसम्म कुनकुन विषयमा समझदारी भयो र केके विषयमा विवाद बाँकी छ भन्ने कुराको जानकारी नदिइएको पौडेलले बताए । १४ औँ महाधिवेशलाई प्राथमिकतामा राखेर कार्यतालिका बनाउने करामा नेतृत्व सहमति हुनुपर्ने पौडेल बताउँछन् ।

पार्टीभित्र लामो समयसम्म यस्तो विवाद देखिनु नेतृत्वकै कमजोरी भएका अर्का नेता चन्द्र भण्डारीको दावी छ । भण्डारीले त अहिलेको नेतृत्वले कांग्रेसलाई सहि दिशामा लैजान नै नसक्ने ठोकुवा गरेका छन् । नेतृत्वले पार्टीको विधान पालना गर्न नसक्दा विवाद भएको भण्डारी बताउँछन् । सभापति देउवाले विधानअनुसार काम गर्न नसकेको र अन्य नेताहरुलाई सहमतिमा ल्याउन नसकेको भण्डारीको तर्क छ ।

एउटै दलका दुई नेताबीच छलफल गर्न पनि समिति जस्तो बनाइएकोमा भण्डारीले असन्तुष्टी व्यक्त गरेका छन् ।

पौडेल पक्षको पछिल्लो भेलाले भागबण्डाको आधारमा सहमती नभए विधानबाटै सबै समस्याको प्याकेजमै समाधान गर्नुपर्ने रणनीतिमा छन । पौडेल पक्षको बहिष्कारबीच सभापति शेरबहादुर देउवाले २६ मंसिरमा बैठक सुरु गर्दै छलफलका लागि ९ एजेन्डा प्रस्तुत गरेका थिए । विवाद समाधानका लागि दुई पक्षबीच पटक–पटक छलफल भए पनि सहमति हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्