काठमाडौँ, १० पुस। बाँके जिल्लामा हाल आएर दैनिक दुई लाखभन्दा बढी अण्डाको माग भए पनि आन्तरिक उत्पादन भने ६० हजार मात्रै छ । नेपाल अण्डा उत्पादक सङ्घ बाँकेका अनुसार जिल्लामा मागभन्दा उत्पादन धेरै कम हुँदा भारतबाट अवैध रूपमा भित्रिने तथा चितवन र दाङलगायतका जिल्लाबाट आयात गरेर बजारको मागलाई पूरा गर्ने गरिएको छ ।
अण्डा उत्पादक सङ्घ बाँकेका अध्यक्ष ललितबहादुर जिसीका अनुसार भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डाको आयात रोक्न नसक्नु र सरकारले अण्डाको मूल्य निर्धारण गर्न नसक्नुका कारण स्थानीय अण्डा उत्पादक किसानले प्रतिस्पर्धा गर्न नसकेपछि उत्पादक किसानको सङ्ख्या पनि घट्दै गएको छ । भारतबाट चोरीको बाटो भएर भिœयाउने अण्डा सस्तो पर्ने तथा त्यसमा बढी नाफा पाइने हुँदा अधिकांश व्यवसायीले समेत सोही अण्डा बिक्री गर्ने गरेकाले बाँके र बर्दियाका अण्डा उत्पादक किसान पेसाबाटै पलायन हुँदै गएको उनको गुनासो छ । आपूर्तिकर्ताले सिन्डिकेट गरेर किसानको घरमै गएर २५० रुपियाँमा प्रतिक्यारेट अण्डा उठाइरहेका छन् । जसले गर्दा किसानलाई मर्का परिरहेकाले राम्रो मूल्य नपाउँदा धेरै किसानले उत्पादन बन्द गरेका छन् ।
सङ्घका अनुसार बाँके र बर्दियामा व्यावसायिक रूपमा बढी अण्डा उत्पादन गर्ने किसान हाल ३० जना मात्र रहेका छन् । यसअघि ७२ जना किसानले व्यवसायिक रूपमा अण्डा उत्पादन गर्दै आएकामा भारतीय अण्डा र बाहिरी जिल्लाबाट आउने अण्डाको मूल्यसँंग प्रतिस्पर्धा गर्न नसक्दा अहिले ३० जना मात्र किसानले उत्पादन गरिरहेको सङ्घका अध्यक्ष जिसीले बताए।
केही समयअघिसम्म दैनिक एक लाखदेखि डेढ लाखसम्म अण्डा उत्पादन हुँदै आएकामा उत्पादक किसान घट्दै गएपछि उत्पादन पनि घट्दै गएकाले अहिले दैनिक ६० हजार मात्र अण्डा उत्पादन भइरहेको उनको भनाइ छ । यो उत्पादनले नेपालगञ्जको बजार मात्रै पनि धान्न सकिरहेको छैन । नेपालगञ्जमा मात्रै दैनिक डेढ लाखजति अण्डाको माग रहेको व्यवसायीले बताएका छन् ।
गोरखापत्र दैनिकबाट