काठमाडौँ, ११ पुस । कैलालीमा पर्यटन सम्बद्ध सरोकारवाला निकायले नेपाल भ्रमण वर्ष २०२० को तयारी थालेका छन् । भ्रमण वर्ष नजिकिएसँगै होमस्टे, होटल व्यवसाय, टुर एन्ड ट्राभल्स सञ्चालकले बढीभन्दा बढी पर्यटक भिœयाउने लक्ष्यसाथ तयारी थालेका हुन् । यो जिल्ला हवाई मार्गसँग जोडिएकाले नेपाल भ्रमण वर्षको क्रममा धेरै विदेशी पर्यटक आउने सरोकारवालाको अपेक्षा छ ।
भ्रमण वर्ष अवधिभर कम्तीमा पनि चार सय विदेशी पर्यटक आफ्नो होमस्टेमा भिœयाउने लक्ष्य राखेका छौँ, थारू होमस्टे गाउँ भादा पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, त्यसका लागि तयारी गरिरहेका छौँ । धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारू होमस्टे भादा अस्थायी राजधानी धनगढीबाट करिब १० किलोमिटर दूरीमा पर्दछ ।
यो बेला बाटोघाटोको समस्या नरहेकाले एक वर्षमा अपेक्षाकृत विदेशी पर्यटक भिœयाउन सकिने अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । उहाँले पर्यटकको सुविधालाई ध्यनमा राखी होमस्टेमा ‘अट्याच बाथरुम’सहितको नयाँ घर निर्माण भइरहेको जनाउनुभयो । भादामा २० वटा घरमा होमस्टे सञ्चालनमा रहेको छ । थारू संस्कृतिको अवलोकन र थारू खानाको परिकारसँग रमाउन भादामा पर्यटक पुग्ने गर्दछन् । भ्रमण वर्षको सुरुवातसँगै भादा होमस्टेमा सांस्कृतिक महोत्सव पनि लगाउने तयारी भइरहेको छ ।
कैलालीमा होमस्टेसहित विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, चिसापानी पुल, टीकापुर पार्क, देवहरिया उद्यान, कोइलहुवा ताल, जाखौर ताल, खानीडाँडा, ऐतिहासिक महŒवको प्राचीन गर्भा दरबारलगायत पर्यटकीय क्षेत्र रहेको छ । यसैगरी चराचुरुङ्गी अवलोकन गर्न रुचाउने पर्यटकका लागि घोडाघोडी सिमसार क्षेत्र, वसन्ता वनस्थित विभिन्न सिमसार क्षेत्र चरा अवलोकनका लागि प्रख्यात छ । विगतमा धेरै पर्यटक आउन नसकेको यस जिल्लामा भ्रमण वर्षको क्रममा अत्यधिक पर्यटक भित्रिने होटल व्यवसायीले पनि अपेक्षा गरेका छन् । पर्यटक नआउँदा यहाँका होटल विभिन्न सङ्घसंस्था, एनजीओआईएनजीओको कार्यक्रमको भरमा
चलिरहेका छन् ।
विगतमा अपेक्षाकृत पर्यटक पाउन नसके पनि नेपाल भ्रमण वर्षको क्रममा धेरै पर्यटक भिœयाउन तयार रहेको होटल व्यवसायी सङ्घ, कैलालीका अध्यक्ष कलम बमले बताउनुभयो । हामी जतिखेर पनि पर्यटक स्वागतका लागि तयार छौँ, उहाँले भन्नुभयो, हाम्रो लागि कुनै विशेष दिन मात्रै नभई सधैँभरि भ्रमण वर्ष नै हो ।
पर्यटन प्रवद्र्धन र आर्थिक विकास होटल व्यवसायीको मुख्य दायित्व रहेकाले आफ्नो दायित्व निर्वाहका लागि होटल व्यवसायी सधैँ तयार रहेको बताइएको छ । धनगढीमा एकसाथ दुई हजार पर्यटकलाई खुवाउन र बसाउन सकिने संरचना तयार भइसकेको अध्यक्ष बमले बताए । उनले भ्रमण वर्षको क्रममा पर्यटकलाई विशेष छुट उपलब्ध गराउने र पर्यटकीय क्षेत्रका बारेमा बढीभन्दा बढी जानकारी गराउने
उल्लेख गरे।
भ्रमण वर्षकै क्रममा होटल व्यवसायी सङ्घ कैलालीले आउँदो फेब्रुअरीमा फुड फेस्टिवल आयोजना गर्दै छ । अध्यक्ष बमका अनुसार फेस्टिवलमा थारू, राना थारू, पहाडी समुदायको खानाको परिकार राखिने छ । फेस्टिवलमा सहभागी हुन देश विदेशका पर्यटकलाई निम्ता गरिने उनले उल्लेख गरे।
यो जिल्लामा प्राकृतिक तालतलैयासँगै विभिन्न जातजातिको संस्कृतिले पर्यटकलाई लोभ्याउन सकिने बताइन्छ । थारू बाहुल्य रहेको कैलालीमा पर्यटकका लागि आकर्षक खुराक थारू संस्कृति बन्नसक्ने कतिपयको बुझाइ छ । विभिन्न मुलुकबाट आउने पर्यटकले थारू संस्कृति, नाचगान अवलोकनका लागि रुचाउने गरेकाले त्यसको तयारी गरिरहेको घोडाघोडी नगरपालिका–४ मा रहेको माघी गाउँ थारू होमस्टेका पूर्वअध्यक्ष शोभाराम चौधरीले बताए।
हामी कहाँ आउने पर्यटकले थारू संस्कृति, नाचगान र खानपान नै विशेष रुचाउने गरेका छन्, उनले भने, हामीले त्यसकै तयारी गरिरहेका छौँ । यसका साथै होमस्टेमा नयाँ घर निर्माणको कार्य पनि थालेको चौधरीले बताए।
माघीमा २०७० देखि होमस्टे सञ्चालन गरिएको हो । हाल त्यहाँ १५ घरमा होमस्टे सञ्चालनमा रहेको छ । यसैगरी कैलारी गाउँपालिका–७ स्थित छुट्की वसन्ता र ९ स्थित सामरचौरा गाउँमा पनि थारू होमस्टे सञ्चालनमा छ । होमस्टेको माध्यमबाट पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको थारू होमस्टे गाउँ भादा पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे।
होटलमा आठ अर्ब लगानी
कैलालीमा होटल व्यवसायमा लगानी थपिएको छ । पर्यटन विकास गर्ने उद्देश्यले तीन तारेदेखि मध्यम खाले होटल सञ्चालनमा छन् ।
यस जिल्लामा होटल व्यवसायमा हालसम्म करिब आठ अर्ब लगानी पुगेको होटल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष बमले बताए । उनका अनुसार जिल्लामा होटलको सङ्ख्या करिब दुई हजार पुगिसकेको छ । सङ्घमा आबद्ध मात्रै होटल सङ्ख्या सात सय रहेको अध्यक्षम बमले बताए। नयाँ खुलेका होटल सङ्घमा आबद्ध हुन बाँकी
छ, उनले भने।
अन्नपूर्ण पोष्ट्बाट