Logo

महलमा चिनियाँ अखडा



काठमाडौं, पुस ११ । दसैंपछि राजधानीको चपली सल्लाघारीमा एकाएक चिनियाँ युवायुवती देखिन थालेपछि अम्बिका पौडेललाई लागेको थियो, ‘चीनमा पढेका विद्यार्थी नेपालमा प्राक्टिस गर्न आएका होलान् ।’ चिनियाँको बाक्लो ओहोरदोहोर हुन थालेपछि अम्बिकाकी छिमेकी तारा थापालाई चाहिँ काठमाडौंको चक्रपथ निर्माणका लागि आएका हुन् कि भन्ने लागेको रहेछ ।

वरिष्ठ चिकित्सक भोला रिजालको घरमा बसेका चिनियाँको चहलपहल र ओहोरदोहोर दिउँसो फाट्टफुट्ट देखिए पनि राति बाक्लै हुन्थ्यो । सामान किन्नदेखि बाहिर घुमघाममा उनीहरूको आवतजावत बढी नै हुन्थ्यो । राति टोलै थर्काएर चिनियाँ भाषामा कुरा गर्दै हिँड्थे । चिनियाँले बोलेको टोलवासी बुझ्दैनथे, टोलवासीले बोलेको चिनियाँले । चिनियाँहरू नजिकैको नारायण गुरुङको पसलमा कहिलेकाहीं सामान किन्न आउँथे । क्यालकुलेटर थिचेर पैसा बार्गेनिङ गर्थे । टोलवासीले उनीहरूबारे थप बुझ्न पनि चाहेनन् ।

जब गएको सोमबार प्रहरी टोलीले चिकित्सक रिजालको घर घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लियो अनि तारा र अम्बिका अवाक बने । रातमा चहलपहल हुने चिनियाँ अखडामा प्रहरी प्रवेश गरेर नियन्त्रणमा लिएपछि मात्रै त्यहाँ गलत काम भइरहेको उनीहरूले अनुमान लगाए । ‘उनीहरू मध्यरातमा हल्ला गर्दै हिँड्दा निद्रा खलबल्याउँथे तर राम्रै काम गर्ने होलान् भनेर कतै उजुरी गरेनौं,’ अम्बिकाले भनिन्, ‘चीनमा पढेर नेपालमा प्राक्टिस गर्न आएको होला भन्ठानें । आफ्नै छोराछोरीको उमेरका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि पो झसंग भयौं ।’ चिनियाँ बस्नुअघि रिजालको घरमा प्याक्ट नामक संस्थाको कार्यालय थियो ।

प्रहरीले चिनियाँ बसेको बूढानीलकण्ठ रुद्रेश्वर चपलीस्थित सुरेन्द्र लामाको घरबाट पनि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो । यो घरको सुरक्षार्थ अहिले प्रहरी तैनाथ गरिएको छ । चिनियाँ बसेको अघिल्लो घरका धनी रामसुन्दर जोशीले भने, ‘३५ जनाभन्दा बढी चिनियाँ बस्थे । हल्ला गर्थे । अरूलाई भित्र छिर्न नदिन गेटमा चौबिसै घण्टा निजी कम्पनीबाट ल्याइएका गार्ड राखेका थिए ।’कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्