काठमाडौं, पुस १२ । बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ ।
गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सीमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो ।
त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको हो । सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेट र नीति तथा कार्यक्रममा समेत यस सुरुङमार्ग लाई विशेष प्राथमिकतामा राखेको छ । चालु आवमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य सरकारले राखेको छ ।
टोखा–छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ। । यसैगरि, चौडाइ डबललेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ ।
यस अघि गरिएको एक अध्ययनका अनुसार यस सुरुङमार्ग निर्माणपछि जम्मा साढे दुई घण्टामा नै काठमाडौदेखि रसुवागढीसम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यस सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।
सुरुङमार्ग काठमाडौंको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरा तर्फ निस्कने छ । यस प्राविधिक टोलिले सम्पूर्ण परिक्षणपछि दिने बिस्तृत अध्ययनपछि मात्र नुवाकोट तर्फको सुरुङ विन्दू तय हुने छ । यो सुरुङमार्गबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ ।राजधानी दैनिकबाट