Logo

गोकर्ण जग्गाको निर्णय बचाउमा सचिव



काठमाडौं, पुस १२ । नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र सहसचिव राजेश्वर ज्ञवाली गोकर्ण फरेस्ट रिसोर्टबारे सरकारले गरेको विवादास्पद निर्णयको प्रतिरक्षामा उत्रिएका छन् । निर्णयपछिको आलोचनाबारे प्रधानमन्त्री, मन्त्रीहरू र सत्तारूढ दलका शीर्ष नेताहरू मौन भएका बेला प्रस्ताव पठाउने सचिव ठाकुर र सहसचिव ज्ञवालीलाई शुक्रबार पत्रकारहरूमाझ उभ्याइए ।

ठट्यौली शैलीमा प्रस्तुत भएका सचिव ठाकुरले अनेक तर्क गरेर विवादास्पद निर्णयको बचाउ गरे । मन्त्रिपरिषद्को निर्णयको आधार र औचित्य पुष्टि गर्न हम्मे परेपछि उनले अनेक किस्सा सुनाएका थिए ।

सचिव ठाकुरले सुरुमा पत्रकारहरूको प्रश्नले नै आफू सफा भएको असान्दर्भिक प्रतिक्रिया दिएका थिए । ‘मेरो शरीरको मयल धुन साबुन चाहिन्थ्यो । मैले त यहाँहरूको प्रश्नले नै मेरो शरीरको मयल धुन सकें,’ ठाकुरले पत्रकार सम्मेलनमा भने, ‘अब सफा भएको छु । साबुन नै चाहिँदैन ।’ आफू कर्मचारी भएकाले राष्ट्रसेवकका रूपमा गर्व गरेको भन्दै उनले सरकारमा ‘को आयो, को गयो’ ले केही फरक नपर्ने बताए ।

‘कानुन बनेपछि हामीले अन्धो भएर कानुनबमोजिम गर्ने हो,’ उनले भने, ‘राष्ट्रलाई ७२ हजार डलर फाइदा भएकामा मलाई त गर्व छ । बरु तपाईंहरू ‘प्रि–अकुपाइड’ हुनुभन्दा तटस्थ भएर सोचिदिनुहोस् ।’ करिब ६ वर्ष अवधि बाँकी छँदै म्याद थप्ने निर्णयका साथ परिवर्तन भएको भाडादरले ७२ हजार डलर फाइदा भएको उनको दाबी रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्