Logo

बिचौलिया समातिन्छन्, भोलिपल्ट उस्तै



ललितपुर, पुस १२ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट गएको सादा पोसाकको सुरक्षाकर्मी टोली यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्यो । बिचौलियाको चलखेल बुझ्न परिचय लुकाएर गएको टोलीले कार्यालयअघि भेटिएका बिचौलियासित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गर्‍यो ।

बिचौलियाले पनि ग्राहक ठानेर ‘नक्कली होइन, सक्कली नै बनाइदिने’ भन्दै २५ हजार लाग्ने बताए । प्रहरीले आफ्नो परिचय खुलाए र भोजपुरका २९ वर्षीय सञ्जीव राईलाई नियन्त्रणमा लिए । सात दिनअघि समातिएका उनले प्रहरीसँगको बयानमा सवारी प्रशिक्षण दिने, अनुमतिपत्र मिलाइदिने र सवारी दर्ता किताबको नवीकरण गर्ने गरेको बताएका छन् ।

बिचौलिया पक्राउ परेपछि केही दिन कार्यालयको स्थिति सामान्य बन्यो । तर, अहिले भने अवस्था पहिलेकै दोहोरिन थालेको छ । बिचौलियाको चलखेल अत्यधिक भएपछि छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वाग्मती एकान्तकुनाका निमित्त प्रमुख चेतप्रसाद उप्रेतीले कार्यालयमा बिचौलिया हाबी भएपछि पक्राउ गरी कारबाही गर्न आफैले प्रहरीलाई सूचना दिनुपरेको बताए । ‘अधिकांश दलाल लागुपदार्थ सेवन गर्ने छन् ।

प्रहरीको सहयोग नभई हामीले मात्र केही गर्न सक्दैनौं,’ उनले भने, ‘साता दिन बिराएर प्रहरीलाई खबर गर्ने गरेका छौं ।’ कार्यालयमा चलखेल कम गर्न कोठाकोठामा सीसीटीभी क्यामेरा जडान गरिए पनि हाल ती सञ्चालनमा छैनन् ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्