Logo

‘आउँदो वर्ष पनि महाधिवेशन नगर्ने ढंगले निर्णय आएको छ’



काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवाको कार्यशैलीको चर्को आलोचना गरेका छन् । महाधिवेशनको मिति घोषणा आउँदो वर्ष पनि महाधिवेशन नै नगर्ने नियतले गरिएको आरोप लगाएका छन् । रिजालसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
महाधिवेशनको मिति र कार्यतालिका त आयो तपाईंहरु यसमा सहमति हुनुहुन्छ ?
सबैभन्दा पहिला हिजो सभापतिबाट जुन निर्णय भएको छ, त्यो नेपाली कांग्रेसको गरिमा र मर्यादाविपरित भएको छ । म जस्तो व्यक्ति जो हाम्रो पार्टीका सभापति भनेर सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने धेरै मानिसहरुलाई यो निर्णयले दुखी तुल्याएको छ ।
तपाईंहरुले कार्यतालिका चाहियो भन्नुभएको थियो, आयो नि त ?
कार्यतालिका महाधिवेशन हुन्छ भन्ने विश्वास गर्ने तरिकाले आएको छैन । हामीहरु महाधिवेशन छिट्टै हुनुपर्छ भनेर लागेका हौं । आउँदो फागुनमा पनि नहुनेजस्तो ढंगले निर्णय भएको छ । महाधिवेशनको मिति सबैको सहमतिको आधारमा हुने विषय थियो । हिजो एकपक्षीय ढंगले बहुमतको आधारमा अर्को पक्षको संलग्न छैन भन्ने ढंगले किन निर्णय भयो । अरु जेसुृकै होस् महाधिवेशनसँग जोडिएका रहेक काममा हाम्रो संलग्नता रहने छ ।
२०७७ साल फागुन ७ गतेका लागि तोकिएको महाधिवेशन अभैm अनिश्चित छ ?
त्यो अनिश्चित नहोस्, हाम्रो सहयोग र कामना छ । महाधिवेशन अझ तोकिएको भन्दा अगाडि नै हुनुपथ्र्यो । जेजस्तो भएपनि मिति तोकिएको छ, त्यसलाई समयमा गराउनका लागि हामी लाग्नेछौं ।
शेरबहादुर देउवाले त वरिष्ठ नेता रामचन्द्र पौडेलको सहमतिमै कार्यतालिका ल्याएको भन्नुभयो नि ?
हामीले पहिलादेखि भन्दै आएका छौं । महत्वपूर्ण निर्णय गर्न सहमति चाहिन्छ, सामान्य बहुमतले मात्रै हुँदैन । संसद्मा केपी शर्मा ओलीको बहुमत छ, त्यहाँ पनि हामीले भन्ने गरेका छौं, ‘तपार्इंंहरु बहुमत भयो भन्दैमा महत्वपूर्ण विषयमा सहमति चाहिन्छ’ भनेर । हाम्रो त्यो नैतिक बलमाथि पार्टीको निर्णय कुठाराघात गरेको छ । अब हामीले सातैवटा प्रदेशको विषयमा २२ प्रतिशत मान्छेले उठेर बोल्दा मनदेखि दोषी महशुश गरेर बोल्नुपर्ने अवस्था हुन्छ ।
अब सभापतिले तपाईंहरुलाई पेलेरै लैजान खोज्नुभयो होइन ?
यसमा म धेरै चर्को कुरा गर्न चाहन्न । पार्टीभित्र आक्रोश निश्चित रुपमा छ । पार्टीको मर्यादाभन्दा बाहिर बोल्न चाहन्न । यसरी निर्णय गर्नु निश्चित रुपमा दुःखद हो । हिजोको निर्णयले आउने महाधिवेशनको मिति तोक्ने निर्णय होइन, आउने महाधिवेशनको उम्मेदवारी तोक्नुभएको जस्तो देखिन्छ । यसमा फेरि अरुले गलत सल्लाह दिए भन्न म चाहन्न । अरुले जे भने पनि उहाँको चाहना र अधिकार हो । यो निर्णयले पार्टीलाई ध्रुवीकृत गरेको छ, यसको जिम्मेवारी कसैले भनेर गरेको भएपनि सभापतिको हो । अर्को यो निर्णयले उहाँको विकल्पको उम्मेदवार तयार गर भनेर सन्देश दिएको छ ।
तर, केन्द्रीय कार्यसमितिको म्याद ०७७ फागुन १९ सम्म छ, १० गतेसम्म महाधिवेशन भएन भने समस्या आउँछ ?
महाधिवेशनको म्याद तोक्दा अन्तिम गर्नुहुँदैन थियो । अर्को अल्पमत र बहुमतको आधारमा पनि गर्नुहुँदैन थियो । हिजोको निर्णयले एउटा समूह पार्टीका कुनै पनि क्रियाकलापमा सामेल नहोस् भन्ने देखिन्छ । एउटा प्रजातान्त्रिक पार्टीको महाधिवेशनको जस्तो निर्णय गर्न बहुमतको आधारमा गर्नु भनेको अरुको संलग्नता नहोस् भन्ने देखियो । महाधिवेशन भएको चार वर्ष भइसकेको छ । मालई लागेको यो मितिसम्म हिजो उहाँलाई सभापति बनाउने साथीहरुको गुन तिर्ने काम सकियो होला । अब त कमसेकम पार्टी सभापतिको रुपमा काम गर्नुहोला भन्ने लागेको थियो । उहाँले पोखरा महाधिवेशनपछि पार्टीलाई फुटको मुखसम्म पुर्याउने काम गर्नुभयो । त्यसपछि पनि पार्टीभित्र अल्पमतमा रहनुभयो । हिजो आपूmले अल्पमतको सामना गरेर आउनुभएकाले अहिले अल्पमतप्रति सम्वेदनशीलता देखाउनुहोला भन्ने लागेको थियो, त्यो हिजोको निर्णयले देखाएन ।
विभाग गठनमा पनि २८ बाट ४१ पुग्यो नि ?
यो विधान बनाउने मस्यौदा समितिमा म पनि छु । समयमा २८ वटा विभाग बनाएपछि काम गर्न अप्ठ्यारो भयो भने केही विभाग थप्नलाई केन्द्रीय समितिलाई अधिकार दिइएको थियो । अहिले त्यसको दुरुपयोग भयो । यो विधान महासमिति बैठकको सहमतिको दस्तावेज हो । त्यसलाई भोलि केही फेर्न पनि सकिन्छ । यो पार्टीको महाधिवेशन गर्नका निम्ति महासमितिबाट सहमतिको आधारमा आएको दस्तावेज हो । जसरी पार्टी र विधानको मर्म र भावना बिपरित निर्णय गरिएको छ, त्यो दुखद् कुरा हो । संविधानलाई पनि हामीले सहमतिको दस्तावेज हो, त्यसैले लागु गर्दा पनि सहमतिमै हुनुपर्छ भनेर जसरी आवाज उठाउने गरेका थियौं । त्यहाँ पनि हामीलाई बोल्न लज्जित हुने गरी निर्णय भयो ।
१९ वटा विभाग थप्नलार्इं सहमति भएको होइन ?
भएको छैन । विधान महासमितिले सर्वसम्मत रुपमा पारित गरेको हो । त्यसलाई पार्टीको केन्द्रीय समितिले पटक–पटक परिमार्जन गर्दै जाने होइन । काम गर्न अप्ठ्यारो भयो भने आवश्यकता अनुसार अधिकार दिएको छ । विधान भनेको सबैको सहमतिको आधारमा बनेको हुनाले जतिबेला पायो उतिबेला परिवर्तन गर्न अधिकार सभापतिलाई छैन ।
केन्द्रीय समितिलाई त्यो अधिकार छैन ?
उहाँले अहिले जे गरिरहनुभएको छ, त्यो पार्टीको विधानको मर्म र भावना बीपरित छ ।
सभापतिले किन यसो गर्नुभयो महाधिवेशनको मुखमा ?
यो कुरा मलाई थाहा छैन । जे भएपनि पार्टी सभापतिलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने म जस्ता धेरै साथीहरुलाई उहाँको निर्णयले दुःखी तुल्याएको छ । अर्को कुरा आगामी महाधिवेशनमा उहाँको उम्मेदवारीलाई पनि अहित गर्ने निर्णय भएको छ ।
नेतृत्वको लागि द्वन्द्व सिर्जना भएको कांग्रेसभित्र ?
हिजोको निर्णय महाधिवेशनको मिति तोकिएको होइन । आउने निर्वाचनको लागि शेरबहादुर देउवाको चुनावी अभियान देखिन्छ । उहाँ पार्टी सभापति नभएर एउटा पक्षको उम्मेदवार जस्तो देखिनुभएको छ ।
तरुण दलको पनि ६ महिना म्याद थपिएको छ नि ?
तरुण दलको म्याद सकिएको छ । यति ठूलो पार्टीको महत्वपूर्ण भ्रातृ संगठन तरुण दलमा ३ वर्षसम्म ४ जना पदाधिकारी भएर चलाउने । त्यसको मिति सकिएपछि एकातिर सभापति, अर्कोतिर महाचिव हुने । त्यस्तो भएको संगठनलाई महाधिवेशन गरेर सही दिशामा अगाडि बढाउनुपर्नेमा पार्टीको महाधिवेशनसम्म कुनै पनि भ्रातृ संस्थाहरुको महाधिवेशन नगर्नेतिर गएको छ । यसले पार्टीको संगठनलाई अहित गर्छ ।
नेविसंघमा पनि अभैm कुरा मिलेको छैन नि ?
यहाँ नेविसंघ, तरुण दल जस्ता भ्रातृ संगठनहरु बनोस् भन्दा पनि आउने महाधिवेशनमा यी संस्थाहरु उपयोग गरेर आफ्नो पक्षमा कसरी वातावरण बनाउन सकिन्छ भन्ने खालको निर्णय भएको छ । यो सभापतिको मात्रै होइन हरेक पदको उम्मेदवारीका लागि प्रभावित पार्ने निर्णय भएको छ । यसले आगामी महाधिवेशन निश्पक्ष हुन्छ भन्ने ठाउँमा शंका गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । यसले एकथरी मान्छेहरु निकै अगाडिबाट दौड सुरु गर्ने अर्कोथरीले निकै पछाडिबाट दौड सुरु गर्नुपर्ने देखिएको छ ।
तपाईंहरु महाधिवेशनमा भाग लिनुहुन्छ ?
बहिस्कार गर्ने कुरै आउँदैन नि । हामी महाधिवेशनसँग जोडिएका हरेक प्रक्रियामा संलग्न हुन्छौं । कहिलेदेखि क्रियाशील सदस्यता नविकरणदेखि नयाँ सदस्यताको आवेदन हुन्छ त्यो चाहियो । वडादेखि माथिसम्म हरेक तहबाट जिल्ला र केन्द्रमा अभिलेख पठाउने काम हुन्छ । त्यसको पनि फेहरिस्त चाहिन्छ । त्यो सचिवालयले तयार गर्ला । कोध्याक्ष र महामन्त्रीको अनुपस्थितिमा यो निर्णय भएको छ ।
महाधिवेशनमा तपाईंहरु जाने ?
समयमा महाधिवेशन गराउन खोज्नु पार्टीको हितमा छ । एउटा सशक्त लोकतान्त्रिक पार्टीले जसले नेपालमा आर्थिक समृद्धि हेर्न चाहन्छ । जसले नेपालको नेतृत्व गर्न चाहन्छ, त्यो पार्टीको महाधिवेशन समयमा हुनुपर्छ । महाधिवेशन विवादको विषय बन्नुहुँदैन ।
उहाँहरुले तोकेको मितिलाई तलमाथि गर्न दबाब दिनुहुन्न ?
मैले अगाडि नै भनिसकेको छु । अझै पनि २०७७ फागुन ७ मा महाधिवेशन हुन्छ भन्ने आधार देखिएको छैन । जसरी निर्णय भएको छ, त्यसले समयमा महाधिवेशन गर्ने भन्दा नगराउने कोशिश बढी देखिन्छ ।
एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस किन उभियो ?
किन भने यो नेपालको विकासको हितमा छ । किन भने हामीले चीन, भारत र अमेरिका यी तिनैवटा मुलुकबाट नेपालले सम्बन्ध अगाडि बढाउनुपर्छ । यी मुलुकहरुसँग भएका कमीकमजोरीलाई उच्चस्तरीय वार्ताद्वारा सच्याउने प्रयास गर्नुपर्छ । भारतसँग देखिएको सीमा विवादलाई पनि वार्ताद्वारा नै समाधान गर्नुपर्छ । अमेरिकाले ऋणको रुपमा नभएर अनुदानका रुपमा सहयोग गर्न खोज्दा हामीले नलिने भन्नु मूर्खता सिवाय केही हुँदैन । नेपालको हितका लागि अमेरिका, भारत र चीनले हिजो जसरी लागेका थिए भोलिका दिनमा पनि त्यत्तिकै आवश्यक छ ।
सैनिक गठनबन्धमा जोडियो भनिन्छ नि ?
यसमा सैनिक गठबन्धन कहीं पनि जोडिएको छैन । नेपाल कुनै पनि सामरिक गठबन्धनमा थिएन, हुँदैन र हुनुहुँदैन । एमसीसी कुनै पनि सामरिक गठबन्धनमा संलग्न सहयोग होइन ।



प्रतिक्रिया दिनुहोस्