काठमाडौं, १३ पुष । काठमाडौंबाट पक्राउ परेका सयभन्दा बढि चिनियाँ नागरिकमाथि प्रहरीमाथि अभद्र व्यवहार गरेकोमा मुद्दा दायर भएको छ । आइतबार प्रहरीको ठूला र साना गाडी लावालस्कर लाग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रोक्किए । गाडीमा मानिसहरु कोचाकोच थिए जसका कारण चक्का लचक्कै थियो । धमाधम हथगडी लगाइएका विदेशीहरु झारिए । धमाधम हथगडी लगाइएका विदेशीहरु झारिए ।
एकैसाथ जिल्ला प्रशासन कार्यालय पुर्याइएका १२२ जना सबै चिनियाँ नागरिक थिए । उनीहरुलाई हिरासतमा म्याद थपका लागि सरकारी वकिलमार्फत् उपस्थित गराउन लगिएको थियो । अभद्र व्यवहारको अभियोगमा अनुसन्धानका लागि भन्दै प्रहरीले दश दिन म्याद थपको अनुमति लिएको बुझिएको छ ।
गत हप्ता एकैपटक १२२ जना चिनियाँ नागरिक राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । उनीहरु संगठित रुपमा सञ्जाल बनाएर साइबर अपराधका अलावा विभिन्न आपराधिक गतिविधिमा संलगन रहेको पत्ता लागेपछि पक्राउ परेका थिए । चिनियाँ नागरिकमध्ये कतिपय पासपोर्ट विना नै नेपाल प्रवेश गरेको पत्ता लागेको थियो । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । तस्बिरः ईश्वर कार्की/रिपोर्टर्स नेपाल