काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुदको सातौं संस्करण २०७३ पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना भयो । त्यसका लागि भौतिक पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपसँग पाँच वर्षको समय थियो । तर, प्रतियोगिता सुरु हुँदासम्म पनि वैजनाथपुरको खेलस्थल तयार भएको थिएन । इटहरी रंगशाला अधुरै थियो ।
त्यसको आठौं संस्करण २०७६ वैशाख ५ देखि ११ गतेसम्म प्रदेश ५ का विभिन्न जिल्लामा आयोजना गरियो । बृहत् राष्ट्रिय खेलकुदको दुई संस्करणको बीचमा कम्तीमा दुई वर्षको समय रहन्छ । सातौं र आठौं संस्करणको बीचमा पनि नयाँ पूर्वाधार निर्माण गर्न दुई वर्ष समय थियो । आठौं संस्करणमा पनि भौतिक पूर्वाधारको अवस्था विगतभन्दा फरक थिएन । उद्घाटन समारोहभन्दा दुई दिनअघिसम्म नेपालगन्जस्थित मुख्य रंगशालामा भीआईपी प्यारापिट तयार थिएन । दाङको बेलझुन्डीमा एथलेटिक्स ट्र्याक र दुबो बिछ्याउने कामको चटारो थियो । नेपालगन्जमै पौडी पोखरीको अवस्था दयनीय थियो । पौडी पोखरीमा खेलै हुन पनि सकेन । हतारमा कामका कारण कभर्डहलमा जुडोको खेल भइरहँदा छतको जस्ता खसेर दुर्घटना निम्तियो । त्यस्तै अवस्था देखियो, मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा ।
नेपालले सन् २०१६ मै १३औं साग आयोजनाको जिम्मेवारी पाएको थियो । त्यसका लागि सरकारसँग तीन वर्षको समय थियो । तर, भौतिक पूर्वाधार निर्माण गर्न सरोकारवालाले समयमा चासो देखाएनन् । समय घर्किंदै गएपछि मात्र पूर्वाधारको काम अगाडि बढाइयो । यसमा सरोकारवाला निकाय आरोप, प्रत्यारोपमा व्यस्त रहे । त्यसकै प्रतिफल हो, १३औं साग सुरु हुनुभन्दा दुई दिनअघि पनि दशरथ रंगशालाको भीआईपी प्यारापिट तयार नहुनु । राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भइसक्दा पनि ‘हिटिङ’ पौडी पोखरीको काम सकिएको थिएन । पोखरामा महिला फुटबलको खेलस्थल तयार पार्न उत्तिकै चटारो थियो । कीर्तिपुरमा निर्मित सेमी कभर्डहलको अवस्था पनि दयनीय थियो ।
खेलकुद अनुत्पादक क्षेत्र हो
यी केही यस्ता उदाहरण हुन्, जसले नेपाली खेलकुदको वास्तविक अवस्थाको चित्रण गर्छन् । ठूला प्रतियोगिताका लागि पूर्वाधारको काम अन्तिम समयमा आएर मात्र किन सुरु गरिन्छ रु खेलकुदको पूर्वाधार निर्माण राज्यको नियमित प्रक्रिया होइन र रु प्रतिभा उत्पादन गर्न र खेलाडीलाई नियमित अभ्यास गराउन पूर्वाधार के आवश्यक पर्दैन रु हरेक वर्ष सुविधासम्पन्न पूर्वाधार निर्माण गर्नु के राज्यको दायित्व होइन, ‘खेलकुद कहिल्यै राज्यको प्राथमिकतामा परेन ।
जुनसुकै सरकार आए पनि खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा लिने परम्परा अन्त्य हुन सकेको छैन’, राखेपका एक पदाधिकारी भन्छन्, ‘खेलकुद भनेको बहुआयामिक क्षेत्र हो । देशको पर्यटन प्रवद्र्धनदेखि स्वस्थ र अनुशासित नागरिक उत्पादनसम्ममा खेलकुदको महत्वपूर्ण भूमिका हुन्छ । राज्यले बुझ्नुपर्छ, खेलकुद अनुत्पादक क्षेत्र होइन ।’
अन्नपूर्ण पोष्ट्बाट