Logo

विदेशमा भ्रमण वर्षको प्रचारप्रसार देखिएन : पूर्वमन्त्री गिरी



काठमाडौं, १५ पुष । पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्ष–२०२० सफल होस भन्ने शुभकामना दिए । तर, विदेशमा भ्रमण वर्षको लागि प्रभावकारी प्रचारप्रसार नभएको उनको गुनासो छ ।

भ्रमण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘म भर्खरे युरोपका विभिन्न देश र अष्ट्रेलियाको भ्रमण गरेर स्वदेश फर्किएको छु । त्यहाँ मैले नेपालको भ्रमण वर्षको खासै प्रचारप्रसार भएको देखिँन् । नेपालमा चाहीँ धेरै हल्लाखल्ला चलेको छ । भ्रमण वर्ष भन्नेबत्तिकै विदेशीहरुलाई नेपाल ल्याउने कुरा हो । त्यसको लागि त विदेशमा राम्रो प्रचारप्रसार हुनुपर्ने हो नि ।’

उनले आर्थिक दृष्टिकोणले पनि नेपालको समृद्धिमा ठूलो छलाङ मार्ने क्षेत्रको रुपमा पर्यटनलाई लिन सकिने बताए । उनले भने,‘विश्वमा नभएका चिजहरु नेपालमा प्राप्त छन् । नेपाल हिन्दू दर्शनको लागि पनि विश्वमै परिचित छ । यो देवभूमी हो । ऋषिमुनीहरुको भूमी हो । ज्ञान भूमी हो ।’

भ्रमण वर्षको प्रचारप्रसारको लागिमात्रै १ अर्ब ५० करोड बजेट छुट्याईएको सुनाउँदै तर सोअनुसार काम नभएको उनको संकेत थियो । उनले भने,‘होमवर्क मैले राम्रो देखिन् । बास्तवमा पत्रकार साथीले अघि भन्नुभयो, काठमाडौंको जाम, खाल्डाखुल्डी यस्तो छ, पर्यटक के हेर्न आउने ?’

उनले नेपाली जहाज युरोपको आकाशमा ब्ल्याक लिष्टमा रहेको सुनाउँदै यो हटाउनको लागि ध्यान दिनुपर्नेपनि बताए । भ्रमण वर्षको प्रचारप्रसारको लागि सरकारले मिडियालाई उपयोग गर्नुपर्ने बताए । उनले भने,‘विदेशमा भ्रमण वर्षको प्रचारप्रसारको कुरा गर्दा चार तारे र पाँच तारे केही होटलमा ब्यानर झुण्ड्याईएको छ, अनि दुतावासले सानो अन्तरक्रिया गर्ने गरेका छन् । यो त पूरानो पद्धती हो ।’ भ्रमण वर्षको प्रचारप्रसारको लागि सामाजिक सञ्जाललाई पनि भरपुर उपयोग गर्नुपर्नेथियो भन्ने उनको सुझाव थियो ।



प्रतिक्रिया दिनुहोस्