काठमाडौं, १६ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै समुदायलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न सबै जाति, भाषा र समुदायबीच बलियो एकता हुनुपर्नेमा पनि जोड दिएका हुन् ।
तमू ल्होसारको अवसर पारेर हिजो (मंगलबार) काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि सबै समुदायले मिलेर काम गर्नुपर्ने पनि धारणा राखेका थिए ।
‘राष्ट्र निर्माणको अभियानमा म सबै समुदायलाई एकतावद्ध भएर जुटन आह्वान गर्दछु,’ मन्त्री गुरुङले भनेका थिए,‘सबै समुदायको एकतावद्ध प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सकिनेछ ।’
उनले आफू गुरुङ समूदायलाई प्रतिनिधित्व गर्दै मन्त्री भएको उल्लेख गर्दै देश, जनता र कुनैपनि समूदायमाथि आँच आउने खालका काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा उनले तमू ल्होसारको कार्यक्रममा पहिलोपटक प्रमुख अतिथिको रुपमा सहभागी भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री गुरुङलाई गुरुङ समूदायलाई समेत प्रतिनिधित्व गरेर मन्त्री भएकोमा सम्मान गरेकी थिईन् ।