काठमाडौं, १६ पुस । १८ महिने शिशु मध्यरातमा एकोहोरो रुन थाल्यो। उनी जुरुक्क उठिन्। छाम्दा नाक चिसो थियो। शिशुलाई स्तनपान गराइन्। एकैछिन रुवाइ रोकियो। फेरि क्षणभरमै छोरोको रुवाइ झन्झन् बढ्न थालेपछि इन्दु चौधरी अत्तालिइन्।
एरोनलाई मंगलबार बिहानै महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा भर्ना गरेपछि मात्र उनी ढुक्क भइन्। ‘मध्यरातदेखि रुन थाल्यो। खोकी पनि लागिरह्यो। जति फकाए पनि नफकिने’, उनले आँखा मिच्दै भनिन्, ‘रातिका बेला कहाँ लैजाऊँ–लैजाऊँ भयो।’ उनका अनुसार सोमबार बिहान खेलिरहेको छोरो साँझ स्याँस्याँ हुन थाल्यो। रातिदेखिको बिसन्चो बिसेक भएन। अस्पताल नलगी सुक्खै भएन। उनीझैं दिनहुँ ६५ प्रतिशत अभिभावक पखाला र निमोनियाबाट पीडित शिशु च्यापेर अस्पताल आउने गरेका छन्। तीमध्ये झन्डै पाँच जनाको अवस्था सिकिस्त देखिने चिकित्सक बताउँछन्। ‘पखाला र निमोनियाका बिरामी आउने क्रम बढेको छ’, अस्पतालका निर्देशक डा। आरपी बिच्छाले भने।
तापक्रममा गिरावट आएकाले चिसो बढेको छ। शिशु र बालबालिका मात्र होइन, अधबैंसे र ज्येष्ठ नागरिकलाई पनि झाडापखाला, निमोनिया र दमले पिरोलिरहेको छ। चिसो मौसममा शिशु स्याहार्न सकस हुने निर्देशक डा। बिच्छाले बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि चिसोको समस्याले पीडित बिरामी बढेका छन्। अस्पतालका प्रवक्ता डा। अनुप बाँस्तोलाले बहिरंग विभागमा जँचाएर फर्कनेहरू धेरै रहेको बताए। भने, ‘भर्ना हुने किसिमको सिकिस्त बिरामीको संख्या थोरै छ।’ कान्तिको बहिरंग विभागमा पखाला र निमोनियाका बिरामी बढेका छन्। ‘आपत्कालीन कक्षमा आउने ९० जनामध्ये ४० जना निमोनियाका बिरामी छन्’, उनले भने। बहिरंग र आपत्कालीन कक्षमा आएका बिरामीमध्ये ७० प्रतिशत पखाला र निमोनियाका बिरामी रहेको उनले सुनाए।
निमोनियापछि संक्रमण बढ्दा पूर्वसचिव शान्तबहादुर श्रेष्ठको ज्यान गएको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सहप्राध्यापक डा। नीरज बमले बताए। ५६ वर्षीय श्रेष्ठको पुस १० गते उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो। ‘ज्येष्ठ नागरिकमा रोगसँग लड्ने शक्ति ह्रास भइरहेको हुन्छ’, उनले भने, ‘यसले गर्दा संक्रमणको जोखिम उच्च हुन्छ।’ बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई पखाला र निमोनियाले सताउँछ। खासगरी, कुपोषित, जन्मदेखि ६ महिनासम्म आमाको दूध राम्रोसँग खान नपाएका, दादुराको संक्रमण भएकामा निमोनिया संक्रमण हुने सम्भावना बढी हुने उनले बताए।
नेपालमा तौल नपुगेका बच्चाको प्रतिशत २८।८ छ। नवजात शिशु मृत्युदर, शिशु मृत्युदरको जोखिम चिसो समयमै बढी हुने चिकित्सक बताउँछन्। ‘एक वर्षमुनिको शिशुको ज्यान जान बेर लाग्दैन। पाँच वर्षमुनिका बालबालिका पनि जोखिममा हुन्छन्। अभिभावक सजग हुनै पर्छ’, उनले भने। जाडोमा रेस्पिरेटरी सेन्सिटियल भाइरस आरएसभीले ब्रोङक्योलाइटिसबाट पीडित हुने बालबालिका धेरै छन्। यो भाइरस संक्रमणले सास फेर्न गाह्रो हुने, बान्ता गर्ने, स्तनपान नगर्नेलगायत लक्षण देखिने डा। बिच्छाले बताए। प्रतिहजार जीवित जन्ममा ३३ शिशुको मृत्यु हुने गरेको छ। त्यस्तै नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २३ जनाको ज्यान जाने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
कसरी चिन्ने
पातलो दिसा हुने अवस्थालाई पखालाका रूपमा लिइन्छ। तर, विन्टर डायरिया अलि फरक हुन्छ। यो डायरिया हुँदा सुरुमा बान्ता हुन्छ। त्यसपछि पानीजस्तो पखाला लाग्छ। शरीरमा पानीको मात्रा छिट्टै न्यून गराउँछ। त्यो बेला बच्चा रुने, स्तनपान गर्न नचाहने हुन्छ। ‘शरीरमा पानीको मात्रा कमी हुनुअघि नै सम्बन्धित विज्ञ वा चिकित्सकसमक्ष लगिहाल्नुपर्छ’, डा। बिच्छाले भने, ‘नत्र यसले छिट्टै सिकिस्त पार्छ।’
शिशुले जे खायो त्यही बान्ता गर्छ। चिसोको समय ब्रोङक्योलाइटिसको संक्रमण उच्च हुन्छ। यसको संक्रमणले फोक्सोमा संक्रमण हुन्छ। बान्ता हुन्छ। छाती घ्वारघ्वार हुन्छ। श्वासप्रश्वास तीव्र गतिमा हुन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार चिसो याममा बालबालिका, ज्येष्ठ नागरिक, असहायको जीवन रक्षाका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ।
अन्नपूर्ण पोष्ट्बाट