Logo

गुटगत स्वार्थले कांग्रेसमा कलह



काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ। पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहने र पुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो।

संस्थापन पक्षले असन्तुष्ट पक्षको सहभागिताबिनै १४औं महाधिवेशन कार्यतालिकासहित विभिन्न निर्णय गरेपछि विवाद झन् बल्झिएको छ। संस्थापन पक्षले निर्णय नसच्याएसम्म छलफलमै नबस्ने अडान असन्तुष्ट समूहको लछ। संस्थापन पक्षले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा सभामुखका लागि हुन लागेको निर्वाचन विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समिति बैठक बोलाएका हुन्। देउवाले बैठक बोलाए पनि असन्तुष्ट पक्षीय नेताहरूको मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको भेलाले बैठकमा सहभागि नहुने निष्कर्ष निकालेको छ।

‘जसले महाधिवेशन कार्यतालिका माग्यो उसको सहभागिताबिनै सभापतिले एकलौटी निर्णय गरेपछि हाम्रो सहभागिता किन चाहियो ’ असन्तुष्ट पक्षीय एक नेताले भने, ‘जे गर्नु हुन्छ उहाँ सभापतिहरूले गर्नु हुन्छ। हामी सहभागी हुँदैनौ।’ एक पक्षीय ढंगबाट सार्वजनिक भएको महाधिवेशन कार्यतालिका नसच्याएसम्म सभापतिसँगको छलफलमासमेत नबस्ने बताउँदै आएको असन्तुष्ट पक्षले पुस २१ गते जिल्ला सभापतिको भेला काठमाडौंमा बोलाएको छ। असन्तुष्ट पक्षले भ्रातृ तथा शुभेच्छुकसहित पार्टीका सबै निकायलाई संस्थापन पक्षको निर्णयको विपक्षमा परिचालन गर्ने निष्कर्ष निकालेको छ। पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने बताउँदै केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘एकलौटी र विधानविपरीत गरिएको निर्णयकाविरुद्ध हामी हाम्रो अडानमा कायमै रहनेछौं।’

पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहनेरपुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो। बहुमतबाट निर्णय लिने र बैठक बहिष्कार गर्ने दुवै निर्णय ठिक नभएको बताउँदै आएका सिटौला सोमबार साँझ असन्तुष्ट पक्षकाका प्रभावशाली नेताहरूको बैठकमा सहभागी भए। सांसद् दिव्यमणिराज भण्डारीको निवास मण्डीखाटारमा देउवा इतरबाट सभापतिका आकांक्षी नेताहरू जुटेका थिए। पार्टीको इतिहासमै पहिलो पटक महाधिवेशन कार्यतालिका एकलौटी ढंगबाट घोषणा गरिएको भन्दै त्यसविरुद्ध एक भएर जाने समझदारी भण्डारील निवसमा भएको छ। नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र सिटौला,  पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला, बलबहादुर केसी र मीनेन्द्र रिजाल सहभागी थिए। केसी र रिजालबाहेक अन्य सबै नेताले १४औं महाधिवेशनमा नेतृत्व दाबी गर्दै आएका छन्। ‘केन्द्रीय समिति बैठकमा अब हाम्रो भूमिका कस्तो हुने र महाधिवेशनमा कसरी एकताबद्ध भएर जाने भनेर छलफल सुरु गरेका छौं,’ सहभागी ती नेताले भने, ‘एकअर्कालाई विश्वासमा लिएर सभापति देउवाका गतिविधिविरुद्ध कसरी एक भएर उभिने भन्नेमै छलफल केन्द्रित छ।’

भण्डारी निवासमा भएको छलफलमा सहभागी सिटौलाले पार्टी कार्यालयबाहिर गएर कुनै पनि गतिविधि गर्नु ठिक नभएको भन्दै सबै कम केन्द्रीय कार्यालय हाताभित्रै गर्न पौडेलसहितका नेतालाई सुझाएका थिए। ‘तपाई रामचन्द्र पौडेललाई वरिष्ठ नेता भनेर कोठा दिएको छ। त्यहीं बसेर छलफल गर्नुस्,’ सिटौलालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘चित्तबुझे बैठकमा सहभागी हुनुहोस्, नभए नजानुस्। तर, कार्यालय हाताबाहिर होइन भित्रै बसेर आफ्नो गतिविधि गर्नुस्।’ सभापति देउवाविरुद्ध एकताबद्ध भएर लाग्ने निष्कर्ष सोमबारको भेलाले निकाले पनि मंगलबारको भेलामा भने नेता सिटौला अनुपस्थित रहे। १३औं महाधिवेशनमा पौडेललाई अस्वीकार गर्दै सिटौला सभापतिको उम्मेदवार बनेका थिए।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्