काठमाडौं ।अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले करिब १२ हजार उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नतिरेर मिल बन्द गर्ने तयारी गरेपछि उखु किसान दुई सातादेखि काठमाडौंमा आन्दोलनरत छन् । उनीहरूले चिनी उद्योगीसँग कुनै ठूला माग पनि गरेका छैनन् । आफूले उत्पादन गरेर बिक्री गरेको उखुको भुक्तानी मात्र मागेका छन् ।
उखु मिलमा बक्यौता लिन पटकपटक धाउँदा पनि नदिएपछि काम नै छोडेर करिब २ सयभन्दा बढी किसान दुई सातादेखि काठमाडौंको माइतीघरमा धर्ना बसेका छन् । उखु किसानका अनुसार अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई उखुको क्रसिङ गरेको बक्यौता दिएका छैनन् ।
नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार सरकारी अनुदान र उखु उद्योगको गरी किसानलाई करिब साढे २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारबाट गत वर्षकै १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । अघिल्लो वर्षको २ करोड रुपैयाँ अनुदान पनि बाँकी रहेको राजधानी दैनिकमा खवर छ ।