काठमाडौं, १६ पौष । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दिपक खड्का देशभित्र लगानी भित्राउन सक्रिय छन् । उद्दोग खोलेर रोजगारीको बढी भन्दा बढी अवसर सृजना गर्न उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
नेपालको हाइड्रो पावरमा यति ठूलो लगानी कसरी भित्रयाउनुभयो ?
सर्वप्रथम त अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई शुभकामना छ । अब हाइड्रो पावरको कुरा गर्दा ‘म विगत ८÷१० वर्षदेखि रसुवा जिल्लामा रहेको भोटेकोशी हाइड्रोमा लागि रहेको छु । शुरुमा दर्ता गर्दा सानो थियो, पछि विभिन्न चरणमा अध्ययन हुँदै गएपछि अहिले १२० मेगावाटको क्षमताको हाइड्रो बन्नेभयो । यसको लगानी नेपालबाट मात्रै सम्भव नहुने भएपछि विभिन्न देशसँग कुरा गर्दै जाँदा चाइनासँग कुरा गरेँ ।
उहाँहरु पनि नेपालमा लगानी गर्न इच्छुक भएको कारणले चाइनिज कम्पनी र मबीचको साझेदारीमा लगानी गर्ने प्रतिवद्धता मात्रै नभएर उहाँहरु कम्पनीमै सामेल भइसक्नुभएको छ । अब यसलाई आजैबाट सानो शिलान्यासको थालनी गर्दछौं । यो ५ किमी टनेल र १२० मेगावाट क्षमता भएको हाइड्रो पावर हो । यसमा २० अर्ब खर्च हुने र २० अर्ब नै रुपैयाँ चाइनाबाटै लगानी भित्रिने भएकाले यो खुसीको कुरा हो । अहिले सरकार भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिने र सोबाट साढे दुई अर्ब रुपैयाँ नेपाल भित्रिन्छ भन्दै गर्दा म एक्लैको पहलमा २० अर्ब रुपैयाँ लगानी नेपाल भित्रिन सुरु भइसकेको छ । हामीले हाइड्रो पावरलगायत नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटनलाई पनि लिएको छौं । नेपालकै स्रोत र साधनको माध्यमबाट आर्थिक समृद्धि र रोजगारी सिर्जना हुन्छ भन्नेमा म ढुक्क छु । नेपालको विकास क्षेत्रलाई नियाल्दा यो कम्पनी पनि एउटा ईँट्टा थपिएको रुपमा खडा भएको छ ।
चीनले यति ठूलो गलानी यो हाइड्रो पावरलाई किन गर्यो ?
यो चीनले मात्रै होइन, सबैभन्दा पहिला यसरी बुझ्नुपर्छ । कुनै पनि लगानीले वातावरण खोज्छ, सुरक्षित हुन चाहन्छ । जुनसुकै लगानीले जहिले पनि दुई कुरा खोजेको हुन्छ । काम गर्ने वातावरण र फाइदा । यी दुई कुरामा स्पष्ट बनाउन सकियो भने लगानी जहाँबाट पनि आउँछ । त्यो चाइनाको पनि हुन्छ, भारतको पनि हुन सक्छ, अमेरिकाको पनि हुन सक्छ । अहिलेको खुल्ला र प्रतिस्पर्धी बजारमा यी बाहेक जापान, कोरिया अन्य मुलुकको पनि लगानी लिन सकिन्छ । लगानीको वातावरणमा विश्वास बनाउन सकियो भने यो देशको मात्रै भन्न सकिँदैन । लगानीकर्ता यो देशमा यो व्यक्तिसँग आफ्नो लगानी सुरक्षित भन्ने लाग्यो भने व्यापार गर्न आउने हो । हामीलाई चाहिएको छ भन्दैमा त्यसै आउँदैन । अभैm नेपालले लगानीकर्तालाई विश्वासनीय वातावरण बनाउन सकेको छैन । त्यसैले कुनै पनि लगानी कुनै व्यक्ति र देशका लागि हो भन्ने मलाई लाग्दैन ।
तपाईं नेपाली कांग्रेसको नेता किन विदेशी लगानी भित्रयाउन पहल गर्नुभयो ?
हामीले मुलुकको परिस्थिति बुझेर तीनवटा क्षेत्रलाई हेर्नुपर्छ । त्यसमा कृषि, पर्यटन र ऊर्जा । देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर छान्दै गर्दा कृषमा अत्यन्तै न्यून उत्पान गरिराखेका छौं । नेपाल अहिले कृषिमा १० प्रतिशत मात्रै उत्पादन हुन्छ । कृषिका हरेक क्षत्रमा ९० प्रतिशत आयातित छ । यसले पैसा बाहिर जान्छ । अर्को सुरक्षित क्षेत्र पर्यटन हो । त्यसको लागि हाम्रो देश प्राकृतिक छटाले भरिपूर्ण छ । खाली यसलाई वातावरण मात्रै सिर्जना गर्ने हो । पर्यटकहरु आउँदा एयरपोर्टदेखि दिक्क हुन्छन् । त्यो हुँदा भोलिदेखि नआउने हुन्छन् । त्यसपछिको शक्ति भनेको ऊर्जा हो, जुन कुराको आवश्यक पानी पुस्तौंपुस्तादेखि खेर गइरहेको छ । त्यसको सदुपयोग गरेर बिजुली निकालियो भने देश विकासको लागि कसैलाई गुहार्नुपर्दैन । जुन देशमा ऊर्जामा पछि परेको छ, त्यो देशको विकास निर्माण भएको छैन । झन्डै सय वर्षको इतिकासमा १०० मेगावाट भएको छैन । दुई÷चार थपिनेबित्तिकै केही तत्वहरुले नेपालमा बिजुली धेरै भयो भने खपत गर्ने ठाउँ नै छैन भनेर प्रचारवाजी गर्न थालेका छन् । यस्ता दुष्प्रचार गरेकाले बैंक ऋण दिन डराउन थालेको छ, लगानीकर्ता हच्किएका छन् । नेपालको विकासको लागि यिनै तीनवटा कुरा त्यसमध्ये बिजुलीको क्षेत्रमा म लागेको हो ऋषिजी ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गरेर चीनले के फाइदा गर्छ त ?
चीनले लगानी गरे वापत् उसले प्रतियुनिट यति पाउने भन्ने हुन्छ । त्यसबाट लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल लिन्छ । अहिले हामी बिजुली नभएका कारण उद्योग धन्दादेखि मानिसका दैनिक जनजीवनका तमाम क्षेत्रमा समस्या थियो । अभैm नेपालका धेरै क्षेत्रमा बत्ति नभएर अध्याँरोमा बस्नुपरेको छ । गाउँको अँध्यारो हटाउने देशको विकासको कोसेढुंगा सावित हुन्छ भन्ने लागेको छ । यो १२० मेगावाट भोटेको आयोजना । फेरि २० औं अर्ब पैसा नेपालमा आएर लगानी हुँदा हजारौं मानिसले रोजगारी पाउने छन् । त्यसकारण नेपाललाई फाइदा छ, चीनलाई पनि लगानी गरेर प्रतिफल कमाउन पाउँदा फाइदा छ । हामीले बिजुली बढी उत्पादन गर्न सकियो भने इलेक्ट्री भेइकलहरु चलाउन पाइन्छ । त्यसबाट तेलको खपत कम हुन्छ । तेलको खपत कम हुनु भनेको रकम बाहिर जानुबाट रोकिनु हो । त्यो महत्व बोकेको यो आयोजनाको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं, हुन्छ ।
नेपालमा जति पनि आयोजनाहरु बनिरहँदा स्थानीयले विरोध गरेर रोकिएका उदाहरण छन्, यहाँ पनि स्थानीयको विरोध हुँदैन ?
स्थानीय जनताको विरोध हुनैहुँदैन भन्ने होइन । तर, हामीले यसमा केही मूल्यमान्यताहरु राखेका छौं, स्थानीयहरुलाई के-कसरी सहयोग गर्ने भनेर । सबैभन्दा ठूलो कुरा के हो भनेर बुझाउन सक्नुपर्छ । यो मेरा लागि पनि रहेछ भनेर बुझेपछि विरोधै गर्दैन नि । लगानी गर्दै गर्दा त्यसलाई पनि सँगै लिएर जानुपर्छ । साशनव्यवस्थाको प्रभावले पनि लगानीकर्ताहरु हच्किन्छन् । भर्खरै सुनेको थिएँ, बाहिरबाट खर्र्बौं लगानी आउँदै गरेकोमा अहिलेको सरकारका कारण नआउने भयो भनेर । त्यसैले नेपालमा पनि विदेशी लगानी आइदिए हुन्थ्यो भन्दै गर्दा आइसकेका लगानीहरु फर्किन्छन् भनेर बेलैमा सम्बन्धित पक्ष सचेत हुनुपर्छ । स्थानीयको विरोधको जुन कुरा छ, हुन्छ त्यसलाई बुझाउन सक्नुपर्छ । विरोध हुने बित्तिकै भाग्यो भने त विकासै हुँदैन । त्यस्ता समस्यालाई चिरेर अगाडि जाने हो ।
चीनले नेपालको विकासमा लगानी गर्न दिल खोलेर लागेको हो ? यसमा राजनीतिक उद्देश्य केही छैन ?
उदयीमान चीनको कुरा गर्दा आर्थिक क्षेत्रमा असाध्य फड्को मारेको देश हो । हामीले एउटा के बिर्सनुहँदैन भने, ‘नेपाली गरीव छन्, खान पाएनन्, बाटो, बिजुली छैन, विकास भएन भनेर दयामाया गरेर काहींको लगानी आउने होइन, यसमा ढुक्क भए हुन्छ ।’ त्यसकारण सबै खाले लगानीहरुले आफ्नो स्वार्थ हेरेका हुन्छन् । त्यसमा पनि चीन आर्थिक बृद्धि र विकासमा अत्यन्तै अगाडि बढेकाले त्यहाँ छिटाले पनि हामीलाई पुग्छ भनेर लागेका हौं । चीन–नेपाल नजिकको छिमेकी भएको, नेपाल प्राकृतिक स्रोतको प्रचुर धनी भएकाले लगानीको वातावरण सुरक्षित देखेका कारणले नेपाल आउन चाहेको हो ।-File Photo