Logo

महाधिवेशन तोकिएकै मितिमा हुन्छ, छलफल गर्न आए हुन्छ- देउवा



विराटनगर, १६ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमै १४ औं महाधिवेशन हुने बताएका छन् । उनले महाधिवेशन २०७७ सालमा हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।

विराटनगरमा बुधबार विहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सहमतिका आधारमा पार्टी संचालन गर्न लामो समय कुर्दा पनि नभएपछि बहुमतका आधारमा निर्णय लिएर अगाडि बढेको बताए । उनले भने, ‘महाधिवेशनका विषयमा छलफल गर्न आए हुन्छ, समूहगत या व्यक्तिगत रुपमा पनि कुराकानी गर्न सधै तयार छु ।’

पार्टी केन्द्रीय कमिटि बैठकबाट २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी १४ औं महाधिवेशनको मिति घोषणा गरेपछि असन्तुष्ट पक्षले विरोध गरिरहँदा देउवाको पछिल्लो भनाई सार्वजनिक भएको हो । देउवाको कदमपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइरालालगायत नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

यसैगरी, देउवाले एमसीसी संसदबाट पारित गर्नुको विकल्प नभएको बताए । अमेरिकाले ५५ अर्ब रुपैयाँ सहयोग दिएको भन्दै त्यसलाई पारित गर्नुपर्ने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्