Logo

लोभ्याउँदै मुन्धुम ट्रेल



काठमाडौँ, १७ पुस । किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ, मुन्धुम । किराँतीहरूले यसलाई मौलिक ज्ञान मान्छन् । यसका आधारमा जन्मदेखि मृत्युसम्मका क्रियाकलाप गर्छन् । यसैअन्तर्गत खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर ‘मुन्धुम ट्रेल’ पदमार्ग बनाइएको छ ।

मुन्धुम ट्रेल पदमार्गबाट हिमशृंखला अवलोकन गर्दै पर्यटक । यो पदमार्ग खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर निर्माण गरिएका हो । पदमार्ग वरपर विभिन्न किराँती समुदायको बसोवास रहेकाले उनीहरूको संस्कार, संस्कृति र जीवनशैली बुझ्न पाइन्छ नै, सँगै विभिन्न हिमशृंखला पनि अवलोकन गर्न सकिने पर्यटन अभियन्ता रमेशकुमार राईले बताए । हिमाली सौन्दर्यमा रमाउन चाहने पर्यटकका लागि यो पदमार्ग उपयुक्त रहेको उनको भनाइ छ । पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत आठ हजार मिटर अग्ला ६ हिमाल देख्न सकिन्छ । यसबाहेक अन्य अनेक हिमशृंखला अवलोकन गर्न सकिन्छ । ठूला घाँसे मैदान, फराकिला चौंरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शिर छिचोल्दै विभिन्न प्रजातिका गुराँस, विभिन्न जडीबुटी तथा घना जंगल अवलोकन गर्न पाइन्छ । यो यात्रामा मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुंगी, रेडपान्डा, भीरमौरी, सालक, कालो भालुलगायत जंगली जनावर भेटिन्छन् ।

खोटाङ र ओखलढुंगाको बीचमा पर्ने दूधकोसीबाट ‘साइटसिन प्लेस’ सुरु हुन्छ । ट्रेकिङ भने चखेवाभन्ज्याङबाट सुरु हुन्छ । १२ दिनको यात्रापछि भोजपुरको बागखोर सुन्तलेमा आएर पदमार्गको यात्रा सकिन्छ । यसको दूरी करिब १०७ किलोमिटर छ । मुन्धुम ट्रेलले आफूलाई लोभ्याएको अमेरिकी नागरिक डा। टमले बताए । यो रुटको यात्रामा लागि उनले दसैंताका १० दिन लगाएका थिए । बस्ने ठाउँ भने सहज रूपमा उपलब्ध नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ । बासका लागि आफैंले पाल लिएर जानुपर्ने अवस्था रहेको उनले बताए । यो ट्रेलको सबैभन्दा उचाइ ४ हजार १ सय ५३ मिटर छ । मध्यपहाडी लोकमार्ग आसपासमा यो पदमार्ग पर्छ । किराँती स्वादका परिकारको स्वाद लिँदै यात्रा गर्न पाइने भएकाले पनि यो पदयात्रा विशेष छ । फापर, कोदो र गहुँको रोटी, ढिँडो, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी र सुकुटीले पर्यटकलाई मोहित पार्छन् । कालिज र रैथाने कुखुराको मासु पनि पदमार्गमा पाइने परिकार हुन् ।

पदयात्राको पहिलो दिन काठमाडौंबाट करिब २२३ किलोमिटर पार गरेपछि हलेसी पुगिन्छ । मुन्धुम ट्रेलको अर्को आकर्षण किराँत ऐतिहासिक थलो तुवाचुङ जायजुम पनि हो । हलेसीभन्दा केही माथि तुवाचुङ जायजुम पर्छ । रूपाकोट विभिन्न जैविक विविधता, जनावर अवलोकनका लागि प्रख्यात छ । ३ हजार १ सय ६५ मिटर अग्लो टेम्केडाँडाको फेद हुँदै अघि जाँदा विभिन्न हिमशृंखला र विभिन्न प्रजातिका गुराँसले पर्यटकलाई लोभ्याउँछन् । पदमार्ग भोजपुर र खोटाङको केपिलासगढी गाउँपालिकाको बीचमा पर्ने धोद्रे देउराली हुँदै अघि बढ्छ । यसै मार्गमा पर्छ, ३ हजार ३ सय ५० मिटर अग्लो मैयुडाँडाको हाँसपोखरी । यहाँ चौरीको दूध, मही, दही, घिउलगायत स्थानीय खाना पाइन्छ । मैयुडाँडाको हाँसपोखरी हुँदै खोटाङको केपिलासगढी गाउँपालिकाको लौरेडाँडा आसपासमा रावाढाप पुगिन्छ । यहाँ रेडपान्डा, भीरमौरीको अवलोकन गर्न सकिन्छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्