पुष १७, काठमाण्डौ । तपाई आजभोलि अनलाइन सपिङ गर्नुहुन्छ ? अनलाइन सपिङ गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ? पक्कै हुनुहुन्न होला । उपभोक्ताको बढ्दो व्यस्तताको मौका छोप्दै अनलाईन सपिङ संचालन गरिएको छ । सुचना प्रविधि, इन्टरनेट तथा सामाजिक सन्जालको प्रयोगमार्फत गरिने अनलाइन सपिङ सहज त हुन्छ तर ठगिने क्रम बढिरहेको छ ।
अनलाइन सपिङका नाममा ‘दराज’ले ग्राहकहरूलाई लामो समयदेखि ठग्दै आएपनि सरकारी निकायबाट जुन गतिमा कारबाही हुनु पर्ने हो त्यसो हुन सकेको छैन । उपभोक्तालाई आकर्षित गर्न कहिले ११ः११ र कहिले १२ः१२ को मेला प्रचार गर्दै दराजले उपभोक्तालाई गुणस्तर र मूल्य दुवैमा ठगी गरेको उजुरी समेत सरकारी निकायमा परेको छ । सेवामूलक’ व्यवसाय भनेर दर्ता भएको ‘दराज’ ले उपभोक्तालाई ठगेको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी परेको लामो समय वितेपनि अहिले सम्म सामान्य सोधपुछभन्दा अरु कारबाही भने भएको छैन । अनुसन्धान भने भइरहेको विभागका सुचना अधिकृत नोखबहादुर बस्याल बताउँछन् ।
दराज अनलाइन सपिङ त एउटा उदाहरण मात्रै हो । उजुरीमा एउटा देखाएर अर्को सामान बेचेको, सक्कली भनेर गुणस्तरहीन सामान दिएको, कम्पनीको लोगो र नाम भएको मुल्यअभिबृद्धि कर (भ्याट) बिल नदिएको र खरिद गर्नुअघि प्याकेटमा भएको सामान राम्रो छ वा छैन भनेर हेर्न नपाएको भन्दै गुनासा आउने गरेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन आफै पनि अनलाइन सपिङ गर्ने क्रममा ठगिएको गुनासो गर्छन् ।
वैदेशिक लगानी ल्याएर कुनै पनि प्रकारको रिटेल कारोबार गर्न पाइँदैन । तर भइरहेको छ । अनलाइन सपिङको छुट्टै कानुन नभएको अवस्थामा वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐनअन्तर्गत यस्ता व्यापार व्यवसाय नियमन गर्न सक्ने छ । तर नियमन हुन सकेको छैन । विदेशी ब्रान्डका कस्मेटिक, मोबाइल, क्यामेरा, घडीलगायत सामान बुकिङ गर्न लगाई पैसा खातामा जम्मा गर्न लगाएर सम्पर्कविहिन हुनेहरु पनि धेरै छन् । तसर्थ दिनप्रतिदिन बढिरहेको अनलाइन सपिङ र यसबाट भइरहेको ठगी नियन्त्रण गर्न सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।