काठमाडौं, पुस १९ ।बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए ।
सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उनले गुनासो गरेका छन् । उनले भने, “सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।”
“सडक डिभिजनले जिल्ला मालपोत कार्यालयमा बुझाएको खबर मात्र पाएका छु, लालपुर्जा भने दिएको छैन”, रौलेले भन्नुभयो । उनी जस्तै सडकमा परेर काटिएको जग्गाको लालपुर्जा सोही ठाउँका रामप्रसाद उपाध्यायले समेत नपाएको बताए । “डिभिजन सडकले मुआब्जाका लागि लालपुर्जा चाहियो भनेर दियाँै, तर काहाँ छन् कुनै पत्ता छैन”, उपाध्यायको भनाई रहेको छ ।
साँफे–मार्तडी राजमार्ग सडक छेउमा रहेको जग्गाको आधा भाग काटिएका छ । त्यस्तै बडीमालिका नगरपालिका साविकको बूढीगङ्गा गाविस–६ का स्थानीय रङ्ग बडुृवालले पनि मुआब्जाका लागि दिएको लालपुर्जा अझै पाउन सकेका छैनन् । सडकमा खेतीयोग्य जमिन काटिएपछि मुआब्जा पाए पनि सडक निर्माण सकिएको वर्षांै बित्दा पनि उक्त जग्गाधनी पुर्जा नपाएको बडुवालले बताए ।
लालपुर्जा नहुँदा जग्गा धितो राखेर ऋण निकाल्न समस्या भएको बडुवालको भनाइ रहेको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराछोरी पढाउन र व्यवसाय गर्न लालपुर्जा अनिवार्य धितो राख्न चाहिने भएकाले सो नहुँदा ऋण लिन कठिन भएको बडुवालले दुखेसो गरे ।
साँफे–मार्तडी राजमार्ग सडकमा परेका बूढीगङ्गा नगरपालिका साविकका बाह्रविसको इकडीगाड हँुदै कुल्देवमाडौँको बार्जुगाड, बाम्का, फालासै र बह्मतोला गाविसको सेरा, बल्दे अमकोट र बडीमालिका नगरपालिकाका साविकको बूढीगङ्गा र मार्तडी गाविसमा रहेका तिपाडा, रिला, जडांगा, रापक र मार्तडीका गरी २२५ बढी परिवारका जग्गाधनी प्रमाण पुर्जा जिल्ला मालपोत कार्यालयमा थन्किएका छन् ।
सडक डिभिजन कार्यालय साँफेका अनुसार राजमार्ग सडकमा परेका जग्गाधनीलाई मुआब्जा बुझाएको र जग्गाको कित्ताकाट गर्नका लागि जिल्ला मालपोत कार्यालय बाजुरामा पत्रसहित जग्गाधनीका प्रमाण पुर्जा बुझाएको जनाएको छ । मालपोत कार्यालय बाजुराले नै जग्गाधनीका प्रमाणपत्र बुझाउन ढिलाइ गरेको बताइएको छ ।
रासस