काठमाडौं, १९ पौष । सरकारले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेको जस लियो तर, शनिबारको झरीले पाँच करोड रुपैयाँ खर्च गरेर बनाइएको दशरथ रंगशालाको भीआइपी प्याराफिटको छानो चुहिएको भिडियो बाहिर आयो ।
कालापानीलाई भारतले नयाँ नक्शामा समेटेको विषयमा देशभर विरोध चर्किएपछि सरकारका तर्फबाट भारतको नक्शा नमान्ने धारणा आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर भारतीय कदमको विरोध गर्दै कुटनीतिक पहल गरेर कालापानी समस्या समाधान गरिने बताए । देशभित्र सरकारका तर्फबाट कडा अभिव्यक्तिहरु आए । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहिबार नियमित पत्रकार सम्मेलनमा नेपालका तर्फबाट कालापानीबारे औपचारिक कुनै प्रस्ताव आएको जानकारीमा नरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवादमा कालापानीबारे कुरा भएको जानकारीमा नरहेको बताइदिए । देशभित्र चर्का कुरा गरेपनि कुटनीतिक तरिकाले भारतीय पक्षसँग औपचारिक छलफल नबढेको खुल्यो ।
नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा भव्य शुभारम्भ गरियो । तर, रंगशाला खाली जस्तै थियो । भ्रमण वर्षबारे देशभित्र बढी तामझाम देखाएपनि विदेशमा यसको सकारात्मक सन्देश जाने काम भएन । नेपालको एकमात्र राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्स सँसारका असुरक्षित एयरलाइन्सको सूचीमा पर्यो । नेपालको तराई क्षेत्र भ्रमण सुरक्षाका दृष्टिले अति असुरक्षित, पहाड र हिमाली असुरक्षित सूचीमा परेको रिपोर्ट अन्तर्राष्ट्रिय जगतमा सार्वजनिक भयो ।
सरकारले गुठी विधयेक ल्याएर आलोचना खेप्यो । गुठी विधयेक ल्याएर भूमाफियालाई रिझाउन खोजेको विषय बाहिर आयो । भूमिहिन र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने गरी विधयेक ल्याइयो । यसका साथै नेपाल ट्रष्टको जग्गा योजनावद्ध तरिकाले यती ग्रुपलाई दिलाइएको खुल्यो । यसको प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बचाऊ गरे ।
ओली सरकारका पालामा नेपाल चीनको बीआरआईमा आवद्ध भयो । लगत्तै अमेरिकाले एमसीसी प्रस्ताव ल्यायो । यसलाई रोक्न सत्तारुढ दलभित्र पहल भयो । पूर्व सभामुख कृष्णबहादुर महरा समेत मुछिए । एमसीसी संसदबाट पारित गर्नुपर्ने भएकाले नेकपाभित्र यसबारे चर्को बहस भयो । एमसीसी रोकेर अमेरिकाको ५५ अर्ब विकास सहयोग रोक्न खोजेको आरोप सत्तारुढ दलमाथि लाग्यो ।
देशमा मूल्यवृद्धि चुलियो । दोब्बर तेब्बर दैनिक उपभोग्य सामाग्रीको मूल्य वृद्धि भयो । तर, मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट ठोस पहल भएन । जनतामा तिव्र असन्तुष्टि बढ्यो । भ्रष्टाचारका घटना बढेको रिपोर्ट सार्वजनिक भए ।
प्रधानमन्त्री ओली स्वास्थ्यका कारण धेरै समय निष्कृय भए । उनको स्वास्थ्य अवस्थाबारे पनि टिकाटिप्पणी भइरहे । त्यसमाथि कतिपय नियुक्ति र राजनीतिक सहमति निर्माण गर्नुपर्ने विषयमा ओली चुके । सभामुख चयनबारे नेकपा टुंगोमा नपुग्दा संसदको हिउँदे बैठक स्थगित भएको भयै छ । यसले सत्तारुढ दलभित्र चरम विवाद बाहिर आयो । सरकारका केही मन्त्रीहरु हटाइँदा लोकप्रीय मन्त्री समेट हटाइए ।
उल्लेखित घटनाले ओली सरकारले साख गुमाउँदै गएको छ । सरकार दुई तिहाईबाट बहुमतमा सिमित भएको छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरबारबाहिर गएको छ । यसले सरकार साख गुमाउँदै गएको र संकटमा धकेलिदै गएको संकेत मिलेको छ ।-File Photo