काठमाडौं, १९ पौष । नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता भई बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो ।
गत ३ जेठमा नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन । यसअघि अनेरास्ववियुले जिल्ला कमिटीलाई पूर्णता दिइसकेको छ । साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् ।
अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक महर र सहसंयोेजक तामाङसहितको ‘फ्रयाक्सन कमिटी’को बैठकले पूर्णता दिइएको हो ।
नवगठित कमिटीमा १११ केन्द्रीय सदस्यको सचिवालय र ४५ जनाको स्थायी कमिटीसमेत गठन गरिएको छ । केन्द्रीय कार्यालय कमिटीपछि तोकिने संयोजक महरले जानकारी दिए । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरिएको छ ।
निर्वाचन आयोगमा संयोेजक भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगमा संयोजक धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगमा संयोजक प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहनुभएको छ । नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासंघ, राष्ट्रिय युवासंघ, प्रेस संगठन नेपाल, इञ्जिनीयरिङ एशोसिएशन, निर्माण व्यवसायी संगठनले समेत पूर्णता पाइसकेको छ ।
अनेरास्ववियुका सहसंयोजक तामाङले पूर्णता पाएको कमिटीसहित अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाकिएको जानकारी दिए । अनेरास्ववियुले माघ पहिलो हप्तासम्म प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ । प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ ।
उनले अनेरास्ववियुलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनको तयारीमा लाग्ने बताए । अनेरास्ववियुले क्याम्पस एकाइ कमिटीलाई भने पूर्णता दिन बाँकी रहेको छ ।