Logo

७ विश्वविद्यालय अस्तव्यस्त



काठमाडौँ, २० पुस । पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ ।

तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए । नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो । त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए । ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए । ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो ।

तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन । तालाबन्दीका बेला घनश्यामलाल दास उपकुलपति थिए । ताला खुलाउन पहलै नगरी उनको कार्यकाल भदौ ६ मा सकियो । त्यसपछि सरकारले व्यवस्थापन संकायका डिन बिजुकुमार थपलियालाई कामचलाउ उपकुलपति तोक्यो । उनी अहिलेसम्म कार्यकक्षमा छिर्न पाएका छैनन् । रजिस्ट्रार प्रमिला थापा पनि ६ महिनादेखि बाहिरै बसेर काम गरिरहेकी छन् ।

विश्वविद्यालयका प्रमुख दुई पदाधिकारीको कार्यकक्षमा लगाइएका ताला खुलाउन कसैले पहल गरेको छैन । कामु उपकुलपति थपलियालाई तालाबन्दी गर्ने पक्षले टेर्दै टेरेनन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूलाई पटक–पटक सम्झाउँदा पनि पार नलागेको उनले बताए । तालाबन्दीकै कारण विश्वविद्यालयको दैनिक कार्य सञ्चालनमै समस्या भएको उनको गुनासो छ ।

विश्वविद्यालय प्रशासनले असोज १० मा काठमाडौंमा विश्वविद्यालयको ३० औं सभा गरेर बजेट कार्यक्रम पारित गरेको थियो । तर सभाले कार्यकारी परिषद्लाई पूर्णता दिन सकेन । पाँच सदस्यीय परिषद्मा दुई वर्षदेखि दुई सदस्य मात्र छन् । परिषद्को सदस्यमा शिक्षकका तर्फबाट एक र डिनका तर्फबाट दुई सदस्य मनोनीत गरिनुपर्नेमा त्यसो हुन नसकेको स्रोतको भनाइ छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले पनि पूर्णता पाएको छैन । शिक्षा तथा कला संकायका डिन शम्भु कोइरालाले लगातारको तालाबन्दी र उपकुलपति नियुक्तिमा ढिलाइले विश्वविद्यालय धराशायी भएको बताए ।

काठमाडौं विश्वविद्यालय ९केयू० का प्राध्यापक र कर्मचारीले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि तीन दिनदेखि शैक्षिक र प्रशासनिक काम ठप्प भएका छन् । विश्वविद्यालयसँग गरिएको पूर्वसम्झौता कार्यान्वयनको माग अघि सारेर प्राध्यापक र कर्मचारी संघले डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा ताला लगाएका हुन् । तालाबन्दीका कारण परीक्षासमेत रोकिएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्