काठमाडौं, पुस २० । निजी क्षेत्रको सबैभन्दा ठूलो भारतीय बैंक आईसीआईसीआईले नेपालमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ। यसका लागि बैंकले गत जुनमा आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) पाइसकेको छ। एलओआई लिँदा ३ हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ। उक्त पैसा तिरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको छ।
आईसीआईसीआई भारतको अन्तर्रा्ष्ट्रिय वित्तीय सेवाप्रदायक कम्पनी हो। मुम्बइमा मुख्यालय भएको यो बैंक सम्पत्ती र बजार पुँजीकरणका आधारमा भारतको दोस्रो ठूलो बैंक हो। भारतीय रिजर्भ बैंकले आईसीआईसीआईलाई एसबीआई र एचडीएफसीसँगै वित्तीय प्रणालीकै महत्त्वपूर्ण बैंकको सूचीमा राखेको छ।
आईसीआईसीआईले संसारभर इन्भेस्टमेन्ट कम्पनी, बिमा कम्पनी, भेन्चर क्यापिटल र सम्पत्ती व्यवस्थापन कम्पनी खडा गरेको छ। ४ हजार ८ सय ५० शाखा र १५ हजार ५ सय एटीएम बुथमार्फत यो बैंकले भारतसहित १७ मुलुकमा विशाल सञ्जाल फैलाएको छ।
अमेरिका र क्यानडामा सहायक कम्पनी खोलेको आईसीआईसीआईले अमेरिका, सिंगापुर, हङकङ, कतार, ओमन, दुबई, चीन र दक्षिण अफ्रिकामा शाखा खोलेको छ। यो बैंकले आफ्नो बेलायति सहायक कम्पनीमार्फत जर्मनी र बेल्जियममा पनि शाखा खोलेको छ। संयुक्त अरब इमिरेट्स, बंगलादेश, मेलेसिया र इन्डोनेसियामा यसअघि नै बैंकले प्रतिनिधि कार्यालय स्थापना गरिसकेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।