काठमाडौँ, २० पुस । वरिपरि घना जंगल। डाँडामा सानो चउर। चउरभरि बाँस र भाटा प्रयोग गरी बनाइएका टहरा छन्। पुरानो पालका प्वालबाट चिसो बिस्तारामै पुग्छ। तिनै टहराबाहिर शनिबार दिउँसो आगो तापिरहेका थिए, राउटे युवा। उनीहरू मात्र होइन, अधिकांश मदिराले लठ्ठ देखिन्थे।
यो दृश्य हो, दैलेखको गुराँस गाउँपालिका–४ सत्ताचौरमा बसिरहेका राउटे समुदायको। उनीहरू विगतमा ‘पैसा छोए पाप लाग्छ’ भन्थे तर हिजोआज आगन्तुकसँग पैसा माग्छन्। त्यो रकम उनीहरू धूमपान, मद्यपानमा खर्चन्छन्। यसको मुख्य कारण हो, सरकारी, गैरसरकारी संस्थाले राउटेलाई दिने मनलाग्दी सहयोग। आफूखुसी दिइने सहयोगले राउटेहरू परनिर्भर बन्दै गएका छन्। जंगलमा बसेर काठका भाँडाकुँडा बनाई जीविकोपार्जन गर्दै आएका उनीहरू मागेर गुजारा चलाउने अवस्थामा पुगेका छन्। ‘सहयोगमा आएको लाखौंका कपडासमेत उनीहरू कहिल्यै लगाउँदैनन्, बरु फाटोटुटो कपडा उपयुक्त ठान्छन्’, गाउँपालिकाले राउटेको हेरचाहका लागि खटाएका नगेन्द्र योगी भन्छन्, ‘फेरि सहयोग आउँछ भन्दै उनीहरू सहयोग पाएको लुगा सस्तैमा बेचिदिन्छन्। त्यही रकमले धूमपान तथा मद्यपान सेवन गर्छन्।’खाद्यान्न तथा लत्ताकपडा बुझ्दै राउटे। तस्बिर स् नन्दराम जैसी
उनका अनुसार राउटेलाई स्वदेश तथा विदेशबाट लाखांै सहयोग आउँछ। उक्त सहयोगले अपेक्षानुसार राउटेको व्यवहार परिवर्तन नभई जीवनशैली बिग्रिएको गाउँपालिका अध्यक्ष खेमराज वलीको तर्क छ। ‘पहिले–पहिले राउटेहरू जंगलमै बसेर काठका भाँडाकुँडा बनाएर जीविका चलाउँथे। उनीहरूको मुख्य आहारा जंगली जनावर र जडीबुटी हो’, उनी भन्छन्, ‘तर, विभिन्न निकायले सहयोग गर्न थालेपछि उनीहरू सहयोग माग्दै सहर पसेर कुलतमा लागेका छन्।’ राउटेहरूको रैथाने संस्कृति संरक्षण गर्दै जीवन उपयोगी सीपसहितको व्यवहार परिवर्तनका लागि गाउँपालिकाले आवश्यक योजना बनाउने उनको भनाइ छ।
शिक्षा निर्देशनालय कर्णाली प्रदेश सुर्खेत र अन्नपूर्ण एग्रो इन्डस्ट्रिज तुलक्षीपुरले शनिबार ४ लाखभन्दा बढी रकमको खाद्यान्न तथा लत्ताकपडा राउटेलाई सहयोग गरे। निरन्तर सहयोग आउन थालेपछि समुदायमा काम नगरी खान पाइन्छ भन्ने सोच बढेको राउटे मुखिया सूर्यनारायण शाही स्वीकार गर्छन्। ‘हामी बिस्तारै आमनागरिकजस्तै व्यवसाय गरेर खान सक्छौं’, उनी भन्छन्, ‘तर, समुदाय न पहिलेजस्तो रह्यो न त आधुनिकतासँगै अघि बढ्न सकेको छ।’
अन्नपूर्ण पोष्ट्बाट