काठमाडौं, २० पौष । राष्ट्रियसभा सदस्यका लागि रिक्त १८ सदस्यका लागि मनोनयन दर्ता भइरहेको छ । आज विहान १० देखि अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता कार्यक्रम भए अनुसार अधिकांश उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन् ।
चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धन बनेको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीको पनि गठबन्धन बनेको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ। त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ। उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ। महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।
प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ। दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो।
पदावधि सकिएकाहरु
२० फागुनमा राष्ट्रियसभाका २० सांसदको पदावधि पूरा हुँदैछ। पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन्। अर्थमन्त्री डा युवराज खतिवडाको पनि फागुन २० मा नै पदावधि पूरा हुँदैछ।
फागुन २० मा दुईवर्षे कार्यकाल पूरा हुनेमा नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सांसद छन्।
राष्ट्रियसभा सदस्यको चयनका लागि हुने मतदानमा गाउँपालिका अध्यक्ष रउपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।
राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला ७, दलित २, अल्पसङ्ख्यक २ र अन्य ७ जना निर्वा्चित हुनेछन्।