काठमाडौं, २० पौष । बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित एक कार्यक्रममा भुवन दाहालको नेतृत्वमा चयन नयाँ कार्य समितिले पदभार गरेको हो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो ।
कार्यसमिति सर्वसम्मतले चयन भएपनि पदभार ग्रहण भएको थिएन । ज्ञानेन्द्र ढुंगानाको समितिको पदावधि महिना दिन बाँकी रहेकाले निर्वाचित भएपनि नयाँले पदभार ग्रहण गर्न ढिला भएको हो । संघको उपाध्यक्षमा अनुकूल भटनागर चयन भएका थिए । उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघका सदस्यहरूमा गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार आएका हुन् । त्यसैगरी संघका सदस्यहरुमै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।