काठमाडौं, २० पौष । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डिजिटल माध्यमद्वारा एकै पटक विभिन्न ठाउँ गरी १८ वटा शाखा कार्यालये विस्तार गरेको छ । बैंकले काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनीमा शाखा आफ्नो शाखा विस्तार गरेको हो । त्यसैगरी लमजुङ्गको बेसीसहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक रुपमा शाखा विस्तारेको छ ।
शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् । अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्रमा बैंकले पनि योगदान दिने बताएका थिए । उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधीकारीको उपस्थिती थियो ।
साथै, बैंकले देशका ७ प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ । जसमध्ये विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँमा डस्टबिन वितरण गर्यो । बैंकले तराईका शीतलहरबाट प्रभावित क्षेत्रमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत् सम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग समेत गरेको छ ।
यसैगरी, बैंकले बाग्मती सरसफाइ, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामग्री पनि वितरण गरेको छ । यसैअन्तर्गत बैंकका क्षेत्रीय÷शाखा कार्यालयले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ । बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङको धादिङ बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको हो ।