Logo

बीमा क्षेत्रको कालोधनमा समितिको तगारो



काठमाडौं । बीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न तथा बीमामा आउने कालोधनमा बन्देज लगाउन बीमा समितिले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा ३ सदस्यीय अध्यय समिति गठन भएको छ ।

पौडेलको संयोजकत्वमा गठित समितिको सदस्यमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खत्री र प्रभु इन्स्योरेन्सका सिइओ संञ्चित बज्राचार्य रहेका छन् । सूचना केन्द्र स्थापनार्थ जीवन बीमा संघ र निर्जीवन बीमा संघसँग छलफल भइएसकेको पौडेलले जारी विज्ञप्तिमा भनेका छन् । अहिले निर्जीवनमा भन्दा जीवन बीमा क्षेत्रमा कालोधन भित्रिने गरेको पाइएको छ । ‘बीमा क्षेत्रमा भित्रिएको कालोधनलाई सफ्टवयेरले ट्रयाकिङ गर्छ, व्यक्तिको आयस्रोतलाई पनि हेर्नेछ, त्यसले गर्दा बीमामा कालोधन रोकिने अपेक्षा गरेका छौं,’ उनले भनेका छन् ।

अहिले एकै व्यक्तिले विभिन्न कम्पनीमा जीवन बीमा गर्ने गरेका छन् । एकै व्यक्तिले धेरै जीवन बीमा कम्पनीमा थोरै–थोरै रकमको बीमा गर्दा धेरै रकम खर्च हुन्छ । बीमा सूचना केन्द्रले पूर्णता पाएपछि यो रोकिने उनको दाबी छ । यसले बीमितको आयस्रोतदेखि कतिवटा कम्पनीमा बीमा गरेको, भनेर पनि जानकारी राख्नेछ । एकै व्यक्तिको नाममा विभिन्न बीमा कम्पनीमा जारी हुने पोलिसी पनि न्यून हुने अपेक्षा समितिको छ ।

पौडेलले सूचना केन्द्रमा सबै बीमा कम्पनीहरुलाई सहभागी गराउने बताएका छन् । उक्त केन्द्र स्थापना भएपछि बीमा क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने उनको दावी छ । अहिले बीमा क्षेत्रमा विभिन्न फ्रड भएका छन्, ती फ्रड कम हुन्छन्, अभिकर्ता, सर्भेयरलाई पनि ट्रयाकिङमा आउने, बीमा क्षेत्रमा कालोधन आउने गरेको भन्ने चर्चाले ठाउँ पाएपछि र त्यसमा पनि कमी आउने उनको भनाइ छ ।

‘हामी यसको लागि सफ्टवेयर पनि बनाउँछौं, सफ्टवेयरले सबैलाई जिम्मेवार बनाउनेदेखि दाबी भुक्तानीमा पनि देखिएको समस्या समाधान हुनेछ,’ उनले भने । यसको लागत अहिले नै तय नभए पनि यसमा सबै बीमा कम्पनीको सहभागीता रहने समितिले जनाएका छ । लागत सबै जीवन तथा निर्जीवन बीमा कम्पनीले बहन गर्नेछन् भने केही प्रतिशत बीमा समितिले व्यहोर्ने छ ।



प्रतिक्रिया दिनुहोस्