काठमाडौं, २१ पुस । चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा भिसा दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो।
‘व्यक्ति छन्, राहदानी छैन। राहदानी छ, व्यक्ति फरार छन्’, एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भने। प्रहरीका अनुसार ९६ जनाको राहदानी छैन। बाँकी २६ जनाको राहदानी प्रहरीसँग छ। राहदानी हराए दूतावासले नयाँ उपलब्ध गराउँदै आएको थियो। राहदानीबेगर पक्राउ परेकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी छ। त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ। ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइनेछ। बुधबार बिहान र बेलुका दुई सिफ्टमा चीनबाट दुईवटा जहाज काठमाडौं आउनेछन्। चीन सरकारले काठमाडांैमा पक्राउ परेका आफ्ना नागरिकलाई बुधबार ९८ जनवरी० दुईवटा चार्टर विमानबाट फिर्ता लैजाने भएको हो। त्यसका लागि चीनले चाइना साउदन र चाइना वेस्टर्न नामका दुई विमान नेपाल पठाउन लागेको छ। एउटामा ८० र अर्कोमा ४२ जना लगिने भएको छ। ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ।
प्रहरीले हिरासतमा रहेका चिनियाँको कागजपत्र बुझाएपछि अध्यागमन विभागले निष्काशन प्रक्रिया थाल्नेछ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका शंकास्पद सबै चिनियाँलाई निष्काशन गरिने बताए। ‘उनीहरू सबैले व्यापारिक र पर्यटक भिसा दुरुपयोग गरेका छन्। सोहीबमोजिम कारबाही गरी निष्काशन गर्छौं’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘पक्राउ परेकामध्ये एक जनासँग मात्रै व्यापारिक भिसा छ। बाँकी सबैको पर्यटक भिसा छ। ईजी ३८९३५०३ नम्बरको चिनियाँ राहदानीवाहक हु चेङगुईले व्यापारिक भिसा लिएका हुन्। चेङगुईले ली चाओ नामको आईटी कम्पनी खोल्न व्यापारिक भिसा लिएको पाइएको छ। यो कम्पनीका नामबाट व्यापारिक भिसा लिएका अन्य चिनियाँ फरार छन्।
उनीहरूलाई फिर्ता लैजाने तयारीस्वरूप चीनको पब्लिक सेक्युरिटी मन्त्रालयअन्तर्गतको अपराध अनुसन्धान विभागका उपनिर्देशक बाङ हुवा नेपालमा छन्। उनले गृह मन्त्रालय, अध्यागमन विभाग र प्रहरीसँग समन्वय गरिरहेका छन्। गैरकानुनी ढंगले नेपाल बसेका चिनियाँविरुद्धको विशेष अप्रेसनका लागि उपनिर्देशक बाङ नेतृत्वको चिनियाँ टोली नेपाल आएको हो। कम्बोडिया, फिलिपिन्स, लाओसलगायत पूर्वी एसियाली मुलुकमा अवैध चिनियाँविरुद्ध अप्रेसन थालिएपछि त्यहाँबाट हजारौं चिनियाँ नेपाल प्रवेश गरेका थिए।
अन्नपूर्ण पोष्ट्बाट